नेकपाको सचिवालय बैठक : ओलीद्वारा १० दिनको समय माग


मधुसूदन रायमाझी, काठमाडौं

झन्डै विभाजनको संघारमा पुगेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद तत्कालका लागि टरेको छ । पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावका विरुद्ध प्रस्ताव ल्याउन जानकारी गराएपछि विवाद समाधानतर्फ अगाडि बढेको हो ।

यसअघि प्रचण्डले सचिवालय बैठकमा पेस गरेको प्रस्ताव र राजनीतिक प्रतिवेदनको बारेमा छलफल नै नहुने अडान लिनुभएका अध्यक्ष ओली सचिवालय बैठकमा सहभागी भएर आफ्ना तर्फबाट पनि प्रस्ताव पेस गर्न थप दश दिनको समय माग्नुभएको थियो । सचिवालय बैठकमा अध्यक्षद्वय ओली र प्रचण्ड दुवैले पेस गरेको प्रस्तावमाथि छलफल हुने भएको छ ।

प्रचण्डले सचिवालय बैठकमा पेस गरेको प्रस्तावले पार्टी नै विभाजित हुने आकलनसमेत गरिएको थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारी, चिनियाँ राजदूत होउ यान्छीको सक्रियताका कारण नेकपाभित्र देखापरेको विवाद टरेको बताइएको छ ।

मंगलबार दिनभर शीर्ष नेताहरुको दौडधूपमा राष्ट्रपति भण्डारी र राजदूत यान्छीले दौडधूप थप गरेका थिए । मंगलबार मात्र प्रधानमन्त्री ओली र प्रचण्डले राष्ट्रपतिसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष ओलीले प्रस्ताव तयार गर्न दश दिनको समय माग गरेपछि सचिवालय बैठक मंसिर १३ गतेका लागि बोलाउने निर्णय गरेको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकलगत्तै मंसिर १८ गते स्थायी कमिटी र मंसिर १५ गते बोलाइएको केन्द्रीय कमिटीको बैठक मंसिर २५ गते बस्ने निर्णय भएको बताउनुभयो ।

त्यसै गरी सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले पार्टीका कार्यकर्ता र जनभावनाअनुसार काम गर्न नसकेको भन्दै सचिवालयका सबै जनाले राजीनामा दिनुपर्ने प्रस्ताव अगाडि सार्नुभएको छ । बुधबार दिउँसो १ बजेटबाट करिब पौने दुई घण्टा बसेको सचिवालय बैठकमा महासचिवालय नयाँ प्रस्ताव ल्याउनुभएको बताइएको छ ।

एक सचिवालयका सदस्यले पौडेलको भनाइ उद्धृत गर्दै भने– ‘पार्टी एकीकरण केका लागि भएको हो, हामी कसरी चल्नुपर्ने थियो, आज हामी के विषयमा छलफल गर्दै छौं ?’

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको पत्र अध्ययन गर्न र तयारी गर्न समय अपुग हुने बताउनुभएको थियो । बैठकमा अध्यक्ष ओलीले आधारहीन, तर्कहीन कुरा राखेर आफूमाथि घेराबन्दी गरिएको, सरकारलाई काम गर्न नदिएको, राम्रो कामप्रति कहीँकतै जस नदिएको भन्दै गुनासो गर्नुभएको बताइएको छ ।

उहाँले भदौ २६ गतेको सहमतिअनुसार काम गर्न छोडेर पत्राचार गर्नतिर लागेकोमा ओलीले आश्चर्यसमेत व्यक्त गर्नुभएको थियो ।

उहाँले पार्टी गतिविधि ठप्प रहेको, एकीकरणको मूल मर्मअनुसार काम हुन नसकेकोमा जनता रुष्ट रहेको भन्दै त्यसअनुसार पार्टीलाई अघि बढाउनुपर्ने धारणासमेत राख्नुभएको सचिवालयका एक सदस्यले जानकारी दिए ।