विदेशी मुद्राको प्रमुख स्रोत पर्यटन : मन्त्री भट्टराई

0
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले वार्षिक रु ८० अर्ब बढी विदेशी मुद्रा आर्जन गरिरहेको बताउनुभएको छ ।झापाको विर्तामोडस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)शाखाको आज उद्घाटन गर्दै उहाँले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै नेपालमा पर्यटन क्षेत्र भएकाले यसको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

“आर्थिक विकासको प्रमुख आधार नै पर्यटन क्षेत्र हो”, उहाँले भन्नुभयो, “झापा र प्रदेश नं १ पर्यटनको सम्भावनायुक्त क्षेत्र भएकाले यस क्षेत्रमा सर्वोत्कृष्ट जनशक्ति उत्पादन गर्न यहाँ नाथमको शाखा विस्तार गरेका हौैँ ।” मन्त्री भट्टराईले भारतसँग पूर्वी सिमाना जोडिएका मेचीनगर र विर्तामोड नगरपालिकामा तीन वटा फाइभस्टार होटलसँगै अन्य ठूला होटलसमेत स्थापना भइरहेकाले यहाँ चाहिने दश जनशक्ति उत्पादन गर्न नाथमको तेस्रो शाखा झापामा स्थापना गरेको बताउनुभयो ।

यसअघि नेपालगञ्ज र महोत्तरीमा शाखा विस्तार भइसकेको उहाँले बताउनुभयो । मन्त्री भट्टराईले अब आङ्गनमै बसेर प्रदेश नं १ का जनताले होटल मेनेजमेन्ट पढेर पर्यटन क्षेत्रमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले चाँडै नै विदेशी पर्यटकले नेपाल घुम्न आउँदा अनिवार्य गाइड राख्नुपर्ने नियम बनाउने तयारी गरिरहेको उल्लेख गर्दै पर्यटन क्षेत्रमा ठूलो जनशक्तिको आवश्यक पर्ने बताउनुभयो ।

विर्तामोडस्थित अनारमुनि पब्लिक क्याम्पसमा स्थापना गरिएको शाखामा स्नातकसम्मको पठाइ हुने नाथमका कार्यकारी निर्देशक दीपककुमार थापाले बताउनुभयो । उहाँले अध्यापन र तालीमबाट नाथमले नेपालमा ५४ हजार दश जनशक्तिको उत्पादन गरिएकोमध्ये ९० प्रतिशतले रोजगारीसमेत पाइसकेको जानकारी दिनुभयो ।

विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराले चाँडै नै विर्तामोडको चारपानेस्थित वीर अमरसिंह माविको डेढ बिघा जग्गा लिएर नाथमको भवन बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
–––