आन्दोलनको चेपुवामा परेको भक्तपुर क्यान्सर अस्पतालले पायो निकास


पुष्कर बुढाथोकी, भक्तपुर ।

ब्यबथापन विवाद, अनियमितता र कर्मचारी आन्दोलनको चेपुवामा परी लामो समयदेखि अन्योलमा रहेको भक्तपुर क्यान्सर अस्पताललाई नेपाल सरकारले सरकारी अस्पताल सरह सञ्चालन गर्ने निर्णयको अस्पतालमा कार्यरत कर्मचारी र अस्पताल प्रशासनले स्वागत गरेका छन् ।

नेपाल सरकारको जग्गामा संचालित भक्तपुर क्यान्सर अस्पताल पछिल्लो समय कानुनी रुपमा अन्यौल भै बिरामीले प्रभावकारी सेवा पाउन कठिन भैरहेको अबस्थामा गत कार्तिक २४ गतेको मन्त्रिपरिषद्को निर्णयबाट अस्पताल विकास समिति गठन आदेश मार्फत संचालन गर्ने निर्णय भएको हो ।

सरकारको पछिल्लो निर्णयसँगै अब अस्पतालको विकास हुने, र क्यान्सर बिरामीहरुले सस्तो ,सुलभ र गुणस्तरीय सेवा पाउने आशा उनीहरुले ब्यक्त गरेका छन् । सरकारको निर्णयमा भक्तपुर नगरपािलका समेत सहमत देखिएको छ ।

नेपाल अर्बुद रोग निवारण संस्थाले भोगाधिकार प्राप्त गरी सञ्चालनमा रहेको सो अस्पतालमा नेपाल अर्बुद रोग निवारण समाजका पदाधिकारीबाट मनपरीरूपमा सञ्चालन भएको भन्दै भक्तपुर नगरपालिकाले अलग सञ्चालन समिति बनाई सञ्चालन गरेको थियो ।

भक्तपुर नगरपालिकाले चालेको कदमविरूद्ध उक्त संस्थाले दायर गरेको रिटमा सर्वोच्च अदालतले ‘हाललाई भक्तपुर नगरपालिकाले गठन गरेको सञ्चालक समितिलाई पनि कुनै काम नगर्न’ अन्तरिम आदेश जारी गरेपछि अस्पतालको सञ्चालन अन्योलमा रहेको थियो ।

अब यहाँको सबै सम्पत्ति नेपाल सरकारअन्तर्गत सञ्चालन हुने भएको छ । नेपाल सरकारको सो निर्णय अनुसार निवारण संस्था र नगरपालिकाले गठन गरेका दुवै सञ्चालक समिति निस्क्रिय हुने भएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अधिकारीको अध्यक्षतामा गठन हुने अस्पताल विकास समितिले अस्पतालको सञ्चालन गर्नेछ । सरकारको सो निर्णयले अस्पतालमा उपचारमा आउने बिरामी र त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई सहज हुने अस्पतालका मेडिकल डाइरेक्टर डा. ऋषिकेशनारायण श्रेष्ठले बताउनुभयो ।

सरकारी स्वामित्वमा जानासाथ उपचार र परीक्षण शुल्कमा हालभन्दा सस्तो गर्न सकिने उहाँको भनाई छ । हाल २७९ जना स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत अस्पतालका सबैलाई अब अस्पताल विकास समिति अन्तर्गत सेवालाई निरन्तरता दिइने भएको छ । आगामी दिनमा स्वास्थ्यकर्मी र कर्मचारी भने लोकसेवा आयोगको विधि प्रक्रियाअनुसार भर्ना गरिने तैयारी छ ।

सरकारको निर्णयबारे प्रतिक्रिया दिंदै भक्तपुर क्यान्सर अस्पतालको फेसबुक पेजमा लेखेको छ,‘नेपाल सरकारको जग्गामा सञ्चालित भक्तपुर क्यान्सर अस्पताल कानुनी रूपमा बेवारिसे भई नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७–७–२४ को निर्णयअनुसार यस अस्पताललाई भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठनमार्फत सञ्चालन गर्ने भएकोले यस अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारी र अस्पताल प्रशासन उक्त निर्णयको स्वागत गर्दछौँ । भविष्यमा अस्पतालको विकास, क्यान्सर बिरामीहरूले सस्तो, सुलभ र गुणस्तरीय सेवा पाउने आशा र कर्मचारीहरूको स्थायित्व र वृत्ति विकासको अपेक्षा राखेका छौँ ।’

यो अस्पताल पनि अब चितवनको भरतपुर क्यान्सर अस्पतालकै ढाँचामा सञ्चालन गर्न सरकारको तयारी छ ।भक्तपुर क्यान्सर अस्पतालाई संघीय सरकार मातहत राख्ने निर्णयसँगै अस्पताल प्रशासनमा नयाँ उत्साह छाएको छ । विगतको व्यवस्थान हुँदा आन्तरिक विवाद, अनियमितता र कर्मचारीको आन्दोलनको चेपुवामा परेको अस्पतालका कर्मचारी अब संस्थाले सही बाटो समातेको अनुभव गर्न थालेका छन् । सङ्घीय सरकारको निकायको छनक दिन अस्पतालमा पहिलोपटक राष्ट्रप्रमुख विद्यादेवी भण्डारीको तस्बीर राखिएको छ ।

यो विसं. २०५१ मा क्यान्सर केयर सेन्टरका रूपमा स्थापना भएको थियो ।विसं २०५६ असोज २१ गते तत्कालीन राजा वीरेन्द्र शाहबाट उद्घाटन भएको सो अस्पतालमा २६ वर्षपछि राष्ट्रप्रमुखको तस्बीर राखिएको हो ।स्थापनाकालमा नेपाल सरकारले सञ्चालन गर्ने भनिए पनि केही वर्षपछि नेपाल अबुर्द रोग निवारण गैरसरकारी संस्थाले एकलौटी रुपमा सञ्चालन गरी आर्थिक हिनामिना गरेको आवाज उठेको थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा.श्रेष्ठले भन्नुभयो,‘अब सरकारले भौतिक तथा प्राविधिक सहयोग गरेर सेवा सञ्चालनमा टेवा पु¥याउँदा सरकारले तोकेको शुल्कमा सेवा दिन सक्नेछौ। अस्पतालका मेडिकल डाइरेक्टर डा. श्रेष्ठले छानबिन गर्ने हो भने यहाँबाट अर्बुद रोग निवारण संस्थाका पदाधिकारीले लानेबाहेक के गरे प्रष्ट हुन्छ ?’

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले क्यान्सर अस्पतालमा अबुद्र्ध रोग निवारण संस्थाले गरेको अनियमितताका कारण उत्पन्न अन्योललाई सरकारले व्यवस्थापन गरेको बताउनुभयो। यो अस्पताल शुरुमा सरकारकै अस्पताल भएपनि पछि संस्थाले कब्जा गरेको अस्पताल स्थापनाकालदेखि सेवामा रहँदै आएका प्रशासन प्रमुख राजाराम तजलेको भनाई छ ।

दैनिक १०० बिरामी भर्ना भएर उपचार हुने, ५०० बिरामीले ओपिडीमा सेवा लिने र १०० बिरामीले रेडियसन सेवा लिने यो अस्पतालमा कोभिड—१९ को महामारीपछि पनि दैनिक ७० जना भर्ना भएर उपचार गराइरहेका छन् । हाल दैनिक ३०० जनाले ओपिडीमा सेवा लिइरहेको अस्पतालको तथ्यांक छ ।

यसअघि लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर) को अध्यक्षको व्यवस्थापन हुँदा अस्पतालमा भ्रष्टाचार गरेको र विभिन्न सेवा सुविधाको दुरूपयोग गरेको आरोप लगाउँदै यहाँका कर्मचारीले आन्दोलन गरेका थिए ।तलब समेत खान कठिन अबस्था आए पछि उनीहरुले अस्पतालको स्वामित्व लिन सरकारलाई आग्रह गरेका थिए ।

सरकारले गठन आदेश जारी गरेपछि आन्दोेलन रोकिएको छ । अस्पतालमा विगतमा भएका अनियतिमताबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्ययन गरिरहेको अस्पताले जनाएको छ ।

उपत्यकामा सरकारको आफ्नै डेडिकेटेड अस्पताल बन्दा यहाँका ५० लाख जनसंख्या र बागमति प्रदेश अन्तर्गतका १३ जिल्लाका क्यान्सर रोगबाट पीडित गरिब तथा बिपन्न परिवारलाई गुणस्तरीय सेवा प्राप्त हुने अस्पतालका बित्त निर्देशक जगन्नाथ भुर्तेल बताउनुहुन्छ ।

यस अस्पताललाई क्यान्सर रोग उपचारमा संलग्न हुने दक्ष चिकित्सक ,नर्स,पारामेडिक्स उत्पादन गर्ने एक क्यान्सर ईष्टिच्युटको रुपमा बिकास गर्न सकिने सरोकारवालाको भनाई छ ।पछिल्लो उत्साहसँगै सरकारबाट बार्षिक रुपमा बजेट निकासा भई अस्पतालमा क्यान्सर रोगको उपचारमा अपनाईने रेडियोथेरापी सेवा अझ बिस्तार हुने र क्यान्सरका सबै उपचार पद्धति यही उपलब्ध हुने र बिदेश गएर उपचार गर्नै पर्ने अबस्थाको अन्त्य हुन सक्ने अपेक्षा गरिएको छ ।

नेपाल अर्बुद रोग निवारण संस्थाका महासचिब बिमल होडाले भने सरकारले संस्थासंग छलफल हुँदै गर्दा र ब्यबस्थापनका सन्दर्भमा अदालतको निर्णायक आदेश नआउँदै गठन आदेश मार्फत संचालन गर्ने निर्णय गर्न हतार गरेको बताउनुभयो ।

महासचिब होडाले भन्नुभयो- ‘ ब्यबस्थापनको जिम्मा सरकारले लिनु ठिकै भए पनि संस्था भित्र सरकारले स्वामित्व हस्तान्तरणको स्वरुपबारे छलफल हुँदै गर्दा भन्दा पनि संस्थाको केन्द्रीय सभाले सरकारलाई स्वामित्व हस्तान्तरणको स्वरुपबारे निर्णय गरे पछि सरकारले यस्तो निर्णय गरेको भए अझै प्रभावकारी हुने थियो।’

सरकार आफैले अस्पताल संचालन गर्ने निर्णय गरिसकेको सन्र्दमा अब कसरी जाने भन्ने बारेमा धारणा तय गर्न संस्थाभित्र र कानुनी सल्लाहकारसँग छलफल र परामर्श भैरहेको उल्लेख गर्नुभयो ।