ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

‘आकस्मिक’ भनेर बोलाइएको बैठकका एजेन्डाबारे भने केही जानकारी दिइएको छैन । ‘दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी मन्त्रिपषिद बैठक बोलाइएको सूचना आएको छ,’ एक मन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले आजै दिउँसो १ बजे बस्ने भनिएको सचिवालय बैठकलाई ‘निस्प्रभावी’ बनाउन आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका नेताहरुको भनाइ छ । यसअघि मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको थियो ।

सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा (बादल) समेत आजको सचिवालय बैठकमा सहभागी हुने भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

सचिवालय सदस्यहरु ईश्वर पोखरेल, रामबहादुर थापा (बादल) तथा पार्टी महासचिव विष्णु पौडेल मन्त्रिपरिषद सदस्य (मन्त्री) छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित बहुमत सचिवालय सदस्यहरुको दवावपछि कात्तिक २८ गते बसेको सचिवालय बैठकले अर्को बैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने निर्णय गरेको थियो ।

तर, कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले एकल रुपमा १९ पन्ने ‘राजनीतिक प्रस्ताव’ पेश गरेपछि ओली बैठक टार्ने प्रयासमा छन् ।

प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमा ओलीविरुद्ध ‘संगीन’ आरोप लगाइएको छ । ‘प्रस्ताव फिर्ता लिएपछि मात्रै सचिवालय बैठक बस्न सक्ने’ ओलीको सन्देश लिएर मंगलबार बिहान पार्टी महासचिव पौडेल कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न उनको निजी निवास खुमलटार पुगेका थिए ।

तर, प्रचण्डले आफूद्वारा पेश गरिएको प्रस्तावमाथि बैठकमै छलफल गरिनुपर्ने र बुधबारका लागि तोकिएको बैठक कुनै पनि हालतमा सार्न नहुने अडान राखेका थिए ।

त्यसपछि प्रधानमन्त्रीले आफू पक्षीय सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव पौडेल र केही स्थायी कमिटी सदस्यहरुसँग मंगलबार दिउँसो बालुवाटारमा छलफल गरेका थिए ।

प्रधानमन्त्रीको छलफल सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकारी अध्यक्ष प्रचण्डलाई छलफलका लागि शीतल निवास बोलाएकी थिइन् । राष्ट्रपति भण्डारीले प्रचण्डलाई पार्टी भित्र देखिएको समस्या समाधानका लागि दुई अध्यक्ष मिल्नुपर्ने सुझाव दिएकी थिइन् ।

मंगलबार राति नै नेपालाका लागि चिनियाँ राजदूत होउ यान्छीले समेत प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेकी थिइन् ।

यसअघि अध्यक्ष प्रचण्डको आह्वानमा वरिष्ठ नेताहरु झलनाथ खनाल तथा माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सम्मेलित बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठक बसेको थियो । दुई पटक बसेको बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठकमा पूर्व माओवादी केन्द्रबाट सचिवालय सदस्य रहेका रामबहादुर थापा (बादल) भने सहभागी भएका थिएनन् ।

तर, कात्तिक २८ गतेको सचिवालय बैठकको निर्णायानुसार आज (बुधबार) सचिवालय बैठक बस्ने भएकाले त्यसमा भने बादल सहभागी हुने तयारीमा थिए । बादल समेत आफू इतर ‘कित्ता’को बैठकमा सहभागी हुने भएपछि प्रधानमन्त्री ओलीले बुधबार दिउँसो सचिवालय बैठक बस्ने समयमा नै मन्त्रिपरिषद बैठक बोलाएका प्रचण्ड–नेपाल पक्षका नेताहरुको बुझाइ छ ।