नेकपा विवाद: राष्ट्रपति भण्डारीदेखि चिनियाँ राजदूत होउ यान्छीसम्म सक्रिय


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी फेरि सक्रिय भएकी छिन् ।

राजदूत यान्छीले मंगलबार राती नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेकी छिन् । मंगलबार राती आठ बजेर दश मिनेट जाँदा प्रधानमन्त्री निवास बालुवाटारमा छिरेकी राजदूत यान्छीले करिब तीन घन्टा प्रधानमन्त्री ओलीसँग ‘गोप्य’ भेट गरेको बताइएको छ ।

यसअघि पनि नेकपा भित्रको शक्ति संघर्ष चलेको बेला सक्रिय भएकी यान्छी फेरि सक्रिय भएकी हुन् ।

पछिल्लो समयमा नेकपाभित्रको विवाद उत्कर्षमा छ । २२ कार्तिकमा अध्यक्ष प्रचण्ड सहित ५ सचिवालय सदस्यले बैठकको माग गर्दै प्रधानमन्त्री ओलीलाई पत्र बुझाएका थिए । त्यस लगत्तै प्रधानमन्त्री ओलीले कात्तिक २५ गते १० पेज लामो पत्र प्रचण्डलाई लेखेका थिए ।

अध्यक्ष प्रचण्डले कात्तिक २८ गते लेखेको ७ पन्ने जवाफ प्रधानमन्त्री ओलीलाई फर्काएका छन् । यो पत्रपछि नेकपाभित्रको विवाद उत्कर्षमा छ । यो ७ पन्ने जवाफलाई प्रचण्डले राजनीतिक प्रस्ताव भनेका छन् ।

सचिवालयको बैठक आज बोलाइएको छ । बैठकअघि राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसम्म सक्रिय बनेका छन् ।

हिंजो साँझ राष्ट्रपति भण्डारीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी थिइन् । त्यस्तै, राति नै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पनि भेटवार्ता भएको थियो ।

केही दिनअघि राष्ट्रपति भण्डारीले नेकपा वरिष्ठ नेता माधव नेपाल तथा उपाध्यक्ष वामेदेव गौतमलाई पनि भेटेकी थिइन् ।

प्रधानमन्त्री ओली समूहले प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नगरेसम्म बैठक बस्नुको औचित्य नहुने बताएको छ । यता प्रचण्ड सहित सचिवालयका ५ नेताहरुले भने प्रस्तावमाथि छलफल हुनुपर्ने अडान यथावत राखेका छन् ।

निर्णायक बैठकको रुपमा हेरिएको यो बैठक अघि चीन सक्रिय भएपछि चासोका साथ हेरिएको छ । बुधबारको बैठक अघि ओलीले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग छुट्टाछुट्टै छलफल गरेका छन् । यो भेट लगत्तै पूर्व माओवादी निकट नेताहरुसँग पनि छलफल गरेका छन् ।