ललितपुर महानगरको महालक्ष्मी मन्दिरमा बगैंचा निर्माण

0
Shares

ललितपुर ।

महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी मन्दिर परिसरमा बगैंचा निर्माण गरेको छ ।
ललितपुर महानगरपालिकाको वडा नं ५ स्थित महालक्ष्मीस्थानमा निर्माण गरिएको महालक्ष्मी स्वस्तिक बगैंचा शनिवार एक कार्यक्रमबीच बैंकले महानगरलाई हस्तान्तरण ग¥यो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महत्वपूर्ण र प्रसिद्ध ठाउँमा बगैंचा निर्माण गरेकोमा बैंकलाई धन्यवाद दिए । महालक्ष्मीमन्दिर ललितपुरका महत्वपूर्ण र प्रसिद्ध शक्तिपीठहरु मध्ये एक भएको बताउँदै यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको उनले बताए । महानगरपालिकाले ग्रिन र ब्ल्यू प्रोजेक्ट अर्थात हरियाली र पानीजन्य योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारे । त्यो मध्ये पार्क र बगैंचा निर्माण एक भएको उनले बताए ।

बैंक संचालक समिति अध्यक्ष राजेश उपाध्यायले शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको सुझाव अनुसार यहाँ बगैंचा निर्माण गरिएको बताए । सत्यमोहन जोशीलाई सम्मान गर्न बैंकले आयोजना गरेको कार्यक्रममा जोशीले बगैंचा निर्माणको सुझाव दिएका थिए ।

उपाध्यायले भने, ‘जोशीज्यूले तपाईहरुको बैंकसँग नाम मिल्ने शक्तिपिठमा बगैंचा बनाउनुस् भन्नुभयो, हामीलाई उहाँको सुझाव एकदमै राम्रो लाग्यो , त्यसपछि काम थाल्यौं । ’ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर बगैंचा निर्माण गरेको उनले बताए । पाटन कलात्मक सहर भएको बताउँदै उनले यहाँको संस्कृति र सम्पदा संरक्षणका लागि बैंकको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ललितपुर महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले महानगरपालिकाको हरियाली संरक्षणको योजनामा सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहकार्य गरेर थुप्रै काम गर्न सकिने उनले स्पष्ट पारे ।

महालक्ष्मीस्थान व्यवस्थापन समितिका अध्यक्ष आत्माराम अधिकारीेले हरियाली संरक्षणका लागि गरेको काम पवित्र भएको बताए । कार्यक्रममा बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सागर शर्माले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर परिसरमा बगैंचा निर्माण गर्न पाउँदा खुशी लागेको बताए ।

कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल, सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीको उपस्थिति थियो ।