आगलागीको कारण पत्ता लगाउन समिति गठन

0
Shares

ललितपुर ।

ललितपुर महानगरपालिकाले महानगरको फोहोर मैला व्यवस्थापन केन्द्रमा भएको आगलागीको कारण पत्ता लगाउन अध्ययन समिति गठन गरेको छ ।

महानगरको वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेको संयोजकत्वमा समिति गठन गरेको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । उक्त समितिमा महानगरका प्रवक्ता राजु महर्जन, वडा नं ८का वडा अध्यक्ष हेम महर्जन, फोहोर मैला केन्द्रका प्रमुख सुरेन्द्रराज अवाले र मेकानिकल इन्जिनियर पुष्कर भट्टराई रहेका छन् । उक्त केन्द्र
महानगरको वडा नं ८ मा पर्छ । चक्रपथ बालकुमारी खरीबोटस्थित उक्त केन्द्रमा शुक्रवार अपरान्ह आगलागी भएको थियो ।

आगलागीको अवलोकन गर्न पुगेका प्रमुख महर्जनले घटना भएको एक सातमा अध्ययन प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् । उनले भने, ‘ उक्त समितिले आगलागी हुनुको कारण, क्षति र अब यस्तो घटना नदोरिहन अपनाउनुपर्ने सुरक्षात्मक उपायहरु समेत समितिले प्रतिवेदनमा उल्लेख गर्छ । ’

केन्द्रका प्रमुख अवालेले आगलागी सुरु भएको एक घण्टामा आगो नियन्त्रण भएको बताए । केन्द्रमै भएका कर्मचारीले ‘फायर एस्टिङग्वसर’ प्रयोग गरेर आगो नियन्त्रण गर्ने प्रयास गरेका थिए । आगो पूर्ण रुपमा निभाउन ललितपुर वारुणयन्त्र शाखाबाट दमकल आएको थियो ।

सिस्डोल ल्याडफिल्ड साइटमा फोहोर पु¥याउनु अघि ललितपुर महानगरपालिकामा उठेको फोहोर यो केन्द्रमा अस्थायी रुपमा जम्मा गरिन्छ ।

केन्द्रमा आगलागी भएपनि ललितपुरभित्रको फोहोर निरन्तर उठिरहेको अवालेले जानकारी दिए । उनले भने, ‘ चाडपर्वमा अरु बेला भन्दा धेरै फोहोर संकलन हुन्छ , फोहोर संकलन भइरहेको छ ।’