रकम निकासा नहुँदा ३ सय ५० घर निर्माणमा ढिलाइ

0
Shares

बीरबहादुर बम, मुगु
कर्णाली प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत अतिगरिब र पीछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्पप्रतिरोधी नयाँ घर निर्माणका लागि केन्द्र सरकारले समयमै किस्ता भुक्तानी नगर्दा घर निर्माणमा ढिलाइ भएको छ । मुगुमा ४ वटै स्थानीय तहमा दलितबस्ती लक्षित जनता आवास कार्यक्रमअन्तर्गत ३ सय ५० घर निर्माणाधीन छन् ।
११ करोड ३ लाख ५० हजार लागतमा गत आर्थिक वर्ष ०७५÷७६ मा २ करोड ९० लाख ५० हजार पहिलो किस्तामा जुम्लाबाट आएको थियो । यस्तै गत आर्थिक वर्ष ०७६÷७७ को दोस्रो किस्तामा ३ करोड ४० लाख रकम बराबरको जनता आवास घर निर्माण हुँदै गरेको पूर्वाधार विकास कार्यालय मुगुका सबइन्जिनियर लक्ष्मीबहादुर भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार चालू आव ०७७÷७८ को ५ करोड ९० लाख संघबाट आउन बाँकी छ । सरकारले गत ११ चैतदेखि लकडाउन गरेपछि संघबाट आउने रकम समयमै नपुग्दा जनता आवासका घर निर्माणमा ढिलाइ भएको सबइन्जिनियर भण्डारीको कथन छ ।
छायानाथ रारा नगरपालिकाका १ सय ५८, कार्मारोङ ११, सोरु ६५ र खत्याड गाउँपालिकामा १ सय १६ भवन गरी ३ सय ५० घर निर्माणाधीन अवस्थामा रहेको पूर्वाधार विकास कार्यालयका सामाजिक परिचालक देवेन्द्र विष्ट बताउनुहुन्छ । ती घर निर्माणका लागि ३ लाख ३२ हजारका दरले रकम वितरण गरिएको छ ।