कांग्रेस महाधिवेशन २०७८ भदौमा गर्न प्रस्ताव

0
Shares

काठमाडौं, (नेस)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा आगामी फागुन ७–१० मा हुने भनिएको महाधिवशेन एक वर्ष सार्ने प्रस्ताव भएको छ । पार्टी संस्थापन पक्षले २०७८ साल भदौमा १४औं महाधिवेशन गर्ने प्रस्ताव गरेको हो । पार्टीभित्रको विवाद समाधान गरेर नेता रामचन्द्र पौडेल पक्षले निर्धारित समय फागुन ७ देखि १० मै गर्नुपर्ने अडान राख्दै आएको छ ।

पार्टीको विधानअनुसार हरेक चार वर्षमा महाधिवशेन गर्नुपर्ने प्रावधान रहेको छ । नियमित चार वर्षपछि थप गरिएको एक वर्षमा पनि नहुँदा संविधानले दिएको अन्तिम ६ महिनाको समयमा महाधिवेशन गर्ने कानुनी बाध्यतमा कांग्रेस रहेको छ । विशेष समय भन्दै एक वर्षका लागि थपिएको म्याद पनि आगामी फागुन १९ बाट सकिँदै छ ।

सभापति शेरबहादुर देउवाले पौडेल पक्षको १६ बुँदे मागका विषयमा छलफल गर्न आफ्नै निवासमा बोलाएको पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यको बैठकमा संस्थापनपक्षकै नेता ज्ञानेन्द्रबहादुर कार्कीले २०७८ भदौमा महाधिवेशन गर्ने विषय उठाउनुभएको बताइएको छ । संस्थापनपक्षका नेताबाट महाधिवेशन भदौसम्म सार्ने विषय उठे पनि देउवा निवासमा पौडेल पक्षले तत्कालै प्रतिवाद नगरे पनि असन्तुष्टि जनाएको बताइएको छ ।

महाधिवेशनको तयारी पूर्व गर्नुपर्ने आन्तरिक समायोजनका काम अझै सकिएको छैन । सबैभन्दा जटिल हुने र महाधिवेशनमा जितहारमा भूमिका खेल्ने सदस्यताको विषय पनि कांग्रेसमा टुंगिसकेको छैन । सदस्यताको विषय सधैं पेचिलो र विवादित बन्ने गरेको छ । बरु महाधिवेशन नजिक हुँदा समायोजन, सदस्यता, विभाग, भ्रातृ संस्थाको विवाद बल्झेर गएको छ ।