बालुवाटारमा ओली–प्रचण्डबीच चर्काचर्की, कसले माग्यो प्रधानमन्त्रीको राजीनामा ?

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक किचलो उत्कर्षमा पुगिरहेका बेला पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्कमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । ६ दिनदेखि संवादहीनता तोड्दै अध्यक्षद्वय ओली–प्रचण्डबीच बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको हो ।

दुई अध्यक्षको विवादका कारण पार्टी नै विभाजनको संघारमा पुगेको चर्चा चलिरहेका बेला भएको भेटमा पनि कुनै ठोस निर्णय हुन सकेन । पार्टीमा जारी विवाद समाधानका लागि सचिवालयको बैठक बस्नुपर्ने प्रस्ताव लिएर बालुवाटार पुग्नुभएका प्रचण्डको प्रस्ताव प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले अस्वीकार गर्नुभएको बताइएको छ । पार्टी कमिटीको बैठक बोलाउन ओली सहमत नभएपछि बैठकमा दुई अध्यक्षबीच चर्काचर्की भएको स्रोतको दाबी छ ।

पार्टी कमिटीको बैठक राख्न ओलीले सहमति जनाएपछि प्रचण्डले ओलीलाई कसले राजीनामा माग्यो भन्ने प्रश्न गर्नुभएको थियो । प्रचण्ड निकट एक नेताले प्रचण्डको भनाइ उद्धृत गर्दै भने– ‘तपाईंले राजीनामा मागियो भनेर विना प्रसंगको कुरा गर्नुभयो, तर अहिले पार्टीभित्रबाट कसैले राजीनामा नै मागेको छैन, हुँदै नभएको कुरा किन आइरहेको छ ?’

राजीनामाको विषय किन बाहिर आयो, कसैले तपाईंको राजीनामा मागे भने पनि पार्टी कमिटीको बैठकमा छलफल गरौं, त्यहीं राखेर छलफल गर्दै अगाडि बढौं भनी प्रचण्डले ओलीलाई आग्रह गर्नुभएको बताइएको छ ।

भेटका क्रममा एक नम्बर प्रदेशका नेताहरुलाई जुम भेलामा ओलीले जबजलाई अघि बढाउन दिएको निर्देशनप्रति पनि प्रचण्डले आपत्ति जनाउनुभएको ती नेताले बताए ।

प्रधानमन्त्री ओलीले बुधबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पदबाट राजीनामा नदिने अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्तिप्रति प्रचण्डले आपत्ति जनाउनुभएको छ । पार्टीको बैठक बोलाउने विषयमा दुई अध्यक्षबीच सहमति हुन नसक्दा अर्को भेटवार्तासमेत अनिश्चित बनेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले आफ्ना विरुद्ध बुनिएका तानाबुना सफल हुन नदिने बताउनुभएको थियो ।

एक मन्त्रीका अनुसार बैठकको अधिकांश समय आफ्ना विरुद्ध षड्यन्त्र भइरहेको जानकारी गराउँदै जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार रहन निर्देशन दिनुभएको थियो ।

त्यसै गरी बिहीबार नै पार्टीभित्र जारी आन्तरिक विवादको बारेमा छलफल गर्न अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी कार्यालय पेरिसडाँडामा छलफल भएको थियो ।