नरवणेलाई महारथीको दज्र्यानी चिह्न प्रदान

0
Shares

काठमाडौं, (नेस)

नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।
शीतल निवासमा बिहीबार आयोजित एक औपचारिक समारोहमा उहाँलाई उक्त दज्र्यानी चिह्न राष्ट्रपति भण्डारीले प्रदान गर्नुभएको हो । उहाँ नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न पाउने १८औं भारतीय स्थल सेनाध्यक्ष हुनुहुन्छ ।

नेपाल र भारतका प्रधानसेनापतिलाई दुवै देशले मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिह्न प्रदान गर्ने प्रचलन रहँदै आएको छ । नेपालले सन् १९५१ देखि भारतीय सेनाध्यक्षलाई नेपालको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्दै आएको छ भने भारतले सन् १९६९ देखि नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय स्थल सेनाध्यक्षको मानार्थ दज्र्यानी चिह्न प्रदान गर्दै आएको छ ।

तीनदिने नेपाल भ्रमणमा रहनुभएका नरवणेलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रमपछि शुरु भएको उहाँको औपचारिक कार्यक्रमअन्तर्गत प्रधानसेनापति पूर्णचन्द्र थापासँग औपचारिक छलफल गरी नेपाल भारतबीच रहेको सदियौं लामो सम्बन्धका बारेमा छलफल गर्नुभएको थियो ।

त्यसपछि सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाले तयार पारेको नेपाली सेनाको इतिहासका बारेमा जानकारी गराइएको थियो । औपचारिक कार्यक्रमअन्तर्गत नरवणेले नेपाली सेनालाई दुई फिल्ड अस्पतालका लागि चाहिने स्वास्थ्य उपकरण हस्तान्तरण गर्नुभएको थियो ।

प्रधानसेनापति थापाले भारतीय सेनाध्यक्षलाई नेपालमा बनेको एक लाख मास्क र बुद्धको मूर्ति हस्तान्तरण गर्नुभएको थियो ।

यसैबीच नेपाल भ्रमणमा रहनुभएकी भारतीय सेनाको आर्मी वाइफ वेलफेयर एसोसेसनकी अध्यक्ष बीना नरवणेले नेपाली सैनिक श्रीमती संघकी अध्यक्ष दीपा रायमाझी थापासँग औपचारिक भेट गर्नुभएको छ । संघले सञ्चालन गरेको कल्याणकारी कामको बारेमा जानकारी लिँदै संघका पदाधिकारीसँग छलफलसमेत गरेको सैनिक मुख्यालयले जनाएको छ ।

यता स्थल सेनाध्यक्ष नरवणेको सम्मानमा प्रधानसेनापति थापाले आयोजना गर्नुभएको रात्रि भोजमा सरिक हुनुभएको थियो । आज शुक्रबार स्वदेश फर्कनुअघि उहाँले प्रधानमन्त्री केपी ओलीसँग औपचारिक भेट गर्नुहुने भएको छ ।

नेपाल भारतबीच सम्बन्ध चिसिएका बेला भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमणलाई चासोका रुपमा हेरिएको छ ।