मन्त्री श्रेष्ठलाई संस्कृतिविद् सत्यमोहन जोशीको आशीर्वाद

112
Shares

सुनील महर्जन, ललितपुर ।
उमेरले १ सय १ नाघेका राष्ट्रिय धरोहर सत्यमोहन जोशीको आशीर्वाद लिन नवनियुक्त शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ शुक्रबार दिउँसो ललितपुरको बखुम्बहालस्थित निवासमा पुग्नुभयो । त्यसबेला निवासकै बगैंचामा एक साहित्यकारको प्रकाशोन्मुख कविता संग्रहको लागि भूमिका लेखनमा रहेका संस्कृतिविद्लाई मन्त्री श्रेष्ठले अभिवादन गर्नुभयो ।
मन्त्री श्रेष्ठले शताब्दी पुरुषलाई अभिवादन गर्दै भन्नुभयो ‘मन्त्री भएपछि आशीर्वाद लिन खबरै नगरी सरासर आएको हँु । कार्यकाल सफलताको लागि तपाईको आशीर्वाद जरुरी छ ।’
‘तपाईंलाई भेट्न जाँदैछु भनेर मैले प्रधानमन्त्री केपीशर्मा ओलीलाई भनेर आएको हँुँ, प्रधानमन्त्रीले पनि मेरो तर्फबाट सञ्चो बिसञ्चो सोधिदिनु भन्नुभएको छ । साथमा सरकारको तर्फबाट तपाईलाई गर्नुपर्ने केही छ भनेर सोध्न अराउनुभएको छ’ श्रेष्ठले जोशीलाई सुनाउनुभयो । प्रत्युत्तरमा जोशीले भन्नुभयो ‘भगवानको कृपाले मेरो स्थिति सबै राम्रै छ । हाललाई गर्नुपर्ने केही छैन । यति सोध्नुभयो, धन्यवाद भनेर प्रधानमन्त्री ओलीलाई भनिदिनु होला ।’
‘तपाईं त भगवानतुल्य मानिस । तपाईंको आशीर्वाद मेरो जीवनमा फापेको छ । सधैं मेरो भलो चिताउनु भो । तपाईप्रति कृतज्ञ छु’ श्रेष्ठ विनीत हुनुहुन्थ्यो ।
जोशीले पनि विनीत बनेर जबाफ दिनुभयो ‘देश र जनताको लागि अझै राम्रो गर्न सक्नुहोस् । यही शुभकामना छ ।’
पदभार ग्रहण गरेपछि विहीबार कीर्तिपुरस्थित चम्पादेवीमा माल्यार्पण गर्न गएका मन्त्री श्रेष्ठले जानकारी गराउनुुभयो, ‘आज तपाईंकहाँ आएको छु । भोलि चार जना शहिद र जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्न जानेछु ।’
जोशीले थप्नुभयो ‘२०६१ सालतिर तत्कालीन स्थानीय विकास राज्य मन्त्री हुँदा नेपाल भाषाको विकास, संस्कृति, सम्पदाको उत्थानसंगै धेरै राम्रो काम गर्नुभएको छ । यहाँका जनतालाई आपतविपद्मा सहयोग गर्ने, सार्वजनिक हितको लागि कामको लागि राज्यप्रशासनसँंग समन्वय गर्ने काम गरिरहनुभएको छ । समाज र जनताको भलोका लागि अझै धेरै काम गर्न सक्नुहोस् ।’
श्रेष्ठ राज्यमन्त्री हुदा जोशी नेपाल भाषा एकेडेमीका चान्सलर हुनुहुन्थ्यो । त्यतिबेला जोशीकै आग्रहमा श्रेष्ठले कीर्तिपुरस्थित नेपाल भाषा एकेडेमीको भवन निर्माण, नेपाल भाषा केन्द्रीय विभागको भवनको तल्ला थप्नेलगायत विभिन्न काममा सहयोग गर्नुभएको थियो ।
त्यसपछि मन्त्री श्रेष्ठले अहिले स्वास्थ्यमा केही समस्या छ कि, कुनै औषधी सेवन गर्नुपरेको छ कि छैन भनेर सोध्नुभयो । जवाफमा जोशीले अहिलेसम्म औषधी सेवन गर्नु नपरेको बताउनुभयो । नभन्दै मन्त्री श्रेष्ठले जोशीलाई देखाउँदै १ सय १ वर्ष पुगिसक्दा पनि यस्तो तकडा, विलक्षण स्मरण शक्ति र ज्ञानको भण्डार भनेर आफ्ना गार्डलाई सुनाउनुभयो ।
आफ्ना श्रीमती एवं संघीय सांसद् बिनाश्रेष्ठलाई पनि लिएर आउनुभएका मन्त्री श्रेष्ठले ‘केही समस्या परेमा छोराजस्तै सम्झिएर सम्पर्क गर्नू भनेर’ जोशीसमक्ष राख्दै कुराकानीको बिट मारेर छुट्टिने तरखर गर्नुभयो । भेटघाटको अन्तिमतिर जोशीसंगै एउटा तस्वीर खिचाउँदै मन्त्री श्रेष्ठ बिदा हुनुभयो ।
जोशीलाई भेट्न मन्त्री श्रेष्ठ आउनुहुँदा ललितपुर क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जन, नेकपाका जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार र जिल्ला नेता सरोजसिहं पनि आउनुभएको थियो ।