मध्यपूर्व देशका नेपाली समस्या होइनन, संभावना हुन

0
Shares

लन्डन । यही अक्टोबर १६ र १७ गते हुन गइरहेको गैरआवासीय नेपाली संघ(एनआरएनए)को सातौं मध्यपूर्व क्षेत्रीय भेलामा मध्यपूर्वका देशमा रहेका नेपालीहरुको समस्या पहिचान गर्नेमात्र नभइ संभावनाहरु पनि खोजिनुपर्ने एक कार्यक्रमका बक्ताहरुले सुझाव दिएका छन् ।

एनआरएनएको राष्ट्रिय समन्वय परिषद् कतार दोहाबाट आयोजना हुन लागेको भर्चुअल भेलामार्फत मध्यपूर्वमा रहेका नेपालीहरुको ज्ञानसीपलाई नेपालले भरपुर सदुपयोग गर्न सोही अनुरुपको खाका बनाएर सरकारलाई झकझक्याउनु पर्ने सुझाव दिएका हुन् ।

बुधबार जिएनएनएनले आयोजना गरेको पत्रकार सम्मेलनमा एनआरएनए आइसीसी सचिब आरके शर्माले मध्यपुर्वका नेपालीहरुमा समस्या होइन संभावना र ज्ञानसीप पनि रहेकाले सोही अनुरुपको खाका तयार गरिनुपर्ने औंल्याएका हुन । उनले भने, ‘हामीले पठाएका रेमिट्यान्स राष्ट्र निर्माणमा लगाउन इच्छुक छौं । भौतिक निर्माणका लागि लगानी गर्न हामी तयार छौं । त्यसैले हामी संभावना पहिचना गरौं ।’

एनआरएनए सल्लाहकार डिबी कार्कीले एनआरएनएको उदेश्य अनुरुप यतिबेला विगतको तुलनामा मुद्दाहरु फेरिएकाले पहिलेका घोषणा गरेका एजेन्डा र कोभिडपछिको अवस्थाका बारेमा विश्लेषण गरेर अघि बढ्नुपर्ने औंल्याए । उनले, ‘नेपाल फर्किएका नेपालीहरुका बारेमा सरकार र एनआरएनएको सहकार्य गरेर कसरी अघि बढने भन्ने विषयमा बहस हुनु जरुरी छ ।’

एनआरएनए प्रवक्ता डिबी क्षेत्रीले एनआरएको आगामी कार्यदिशा र स्मार्ट एनआरएनए कस्तो बनाउने भन्ने विषयमा भेलामा ब्यापक छलफल हुनुपर्ने बताए । ‘मध्यपूर्वका देशमा रोजगारीका पुगेका नेपालीहरुलाई विचरा र मध्यम बर्गीय भन्नुभन्दा पनि स्वाभलम्वी नेपाली भनेर सम्बोधन गर्नु जरुरी छ’, उनले भने, ‘हाम्रो सीप, पूँजी र वर्गलाई नीति निर्माण तहमा पु¥याउन भेलाले घनीभूत छलफल हुनु जरुरी छ ।’

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मोक्दात मुसलमानले मध्यपुरमासपना बोकेर आउने नेपालीहरुको सीपलाई कसरी ब्यवस्थापन गर्नेभन्ने बारेमा ब्यापक बहस हुनुपर्ने बताए । भेलाबाट निस्केको निष्कर्षलाई नेपाल सरकारसँग पुराउनु पर्ने र सीप सिकेर नेपाल पुगेकालाई स्वरोजगारको ब्यवस्था गर्न सरकारलाई दबाब दिनुपर्ने बताए ।

एनआरएनए बहराइन अध्यक्ष लक्ष्मी गिरिले चोरबाटो भएर खाडी मुलुकमा नेपाली चेलीहरुलाई ल्याउने र घरेलु हिंसा गर्नेक्रमलाई रोक्नेगरी खाका तयार गर्नुपर्ने सुझाव दिइन । कोभिडका कारण रोजगारी गुमाएर स्वदेश पुगेका नेपालीहरुलाई स्वरोजगारको ब्यवस्था गर्न दबाब सिर्जना गर्नुपर्ने बताइन ।

पत्रकार सम्मेलनमार्फत एनआरएनए मध्यपुर संयोजक प्रविण गुरुङ साथै मनोज गोर्खालीले मध्यपूर्वका नेपालीहरुका समस्या र संभावना, स्वदेश फर्किएका नेपालीहरुले सिकेका सीपलाई सदुपयोग गर्न सोही अनुरुपको खाका भेलाले तयार पार्ने जानकारी दिए । कार्यक्रममा बरिष्ठ पत्रकार भगिरथ योगी, पत्रकार डा.जगन कार्की, नेपाल पत्रकार महासंघ युकेका महासचिब संजयभक्त कंडेल, एनआरएनए युरोप उपसंयोजक राजकुमार अर्याल जोन, एनआरएनए मध्यपूर्वका मिडिया संयोजक मेघराज सापकोटा, मध्यपूर्वकै राज रेग्मीलगायतले धारणा राखेका थिए ।

दुई दिनसम्म चल्ने उक्त क्षेत्रीय भेलामा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, श्रममन्त्री रामेश्वर राय यादव साथै एनआरएनएका पदाधिकारीहरुको सहभागिता रहने छ ।

कार्यक्रममा धारण राख्ने अधिकांश बक्ताहरुले कोभिडको महामारीमा नेपाल सरकारको भूमिका जिम्मेवार नभएको, नेपालीहरुको समयमा उद्दार गर्न सरकार चुकेको र उदासीन बनेको बताएका थिए । यस्ता विषयमा आगामी भेलाले गम्भीर छलफल गर्नुपर्ने सुझाव दिए ।

कोभिडका कारण मध्यपूर्वबाट झण्डै एक लाखको हाराहारीमा नेपालीहरु फर्किएकाले उनीहरुको व्यवस्थापन गर्न सरकारलाई दबाब दिनेगरी खाका तयार गर्नुपर्ने सुझाव दिइएको थियो ।