सदरमुकाममा सडक विस्तार र स्तरोन्नति गर्न आग्रह

0
Shares

नेपाल समाचारपत्र, डडेल्धुरा

सडक क्षेत्रमा रहेका घरजग्गा धनीलाई मुआब्जा दिने विषयमा विवाद देखाएर पछिल्लो समय दुईपटक टेन्डर आह्वान गर्दै खारेज गरिएको डडेल्धुरा सदरमुकामस्थित बागबजार–कीर्तिपुर सडक विस्तार र स्तरोन्नतिका लागि नेपाली कांग्रेस डडेल्धुराले प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

नेपाली कांग्रेस डडेल्धुराको पहलमा अमरगढी नगरपालिकासहित जिल्लास्थित सबै राजनीतिक दलहरु सम्मलित सर्वपक्षीय, सर्वदलीय बैठकले बुधबार सडक विस्तारका लागि प्रक्रिया थाल्ने निर्णय गरेको थियो ।

सर्वदलीय सहमतिमा सडकको बढ्दो चाप व्यवस्थित गर्ने अभिप्रायले गरिएको पहल स्वागत योग्य भएको बिहीबार विज्ञप्ति प्रकाशित गर्दै नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।

बैठकले सडक विस्तारका क्रममा पेचिलो बनेको मुआब्जाको विषयलाई सम्बोधन गरेको कांग्रेस डडेल्धुराद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

नेपाली कांग्रेस डडेल्धुराले सडक क्षेत्रको केन्द्रविन्दुबाट १५/१५ मिटर दायाँ बायाँ विस्तार गरेर सडक स्तरोन्नति गर्दै यस क्षेत्रको सौन्दर्यता र आवतजावतलाई सहजता पुग्ने गरी प्रक्रिया शुरु गर्न आग्रह गरेको छ ।

उक्त निर्णय यथाशीघ्र कार्यान्वयनमा ल्याइयोस् भनी सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै निर्णय कार्यान्वयनका लागि प्रतिबद्ध रहेको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।

यसअघि तीन किलोमिटर सडक विस्तार गर्न डिभिजन सडक कार्यालय कुलपाते, डोटीमार्फत ४४ करोड बजेटको टेन्डर दुईपटक आह्वान गरेर खारेज गरिएको थियो । सडक क्षेत्र दायाँ बायाँ साढे सात÷साढे सात मिटर फराकिलो बनाउने डिभिजन सडक कार्यालय कुलपातेको योजना थियो ।

‘विगतमा नेपाली कांग्रेसले सडक विस्तारमा अवरोध गरेको भ्रामक सन्देश प्रवाह गरेर काम नगर्ने प्रवृत्ति देखिएको हो’, प्रेस विज्ञप्तिमा हस्तारक्षर गरेका नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभाका सदस्य कर्णबहादु्र मल्लले भने– ‘अरुलाई दोष दिएर काम नगर्ने प्रवृत्तिलाई छोडेर सडक विस्तार प्रक्रिया थालनी गर्न अमरगढी नगरपालिकाको नेतृत्व र सत्तारूढ दललाई आग्रह गर्दछौं ।’

यसअघि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुरा जिल्ला कमिटिले पत्रकार सम्मेलनको आयोजना गर्दै डडेल्धुरा सदरमुकाम क्षेत्रमा सडक विस्तार र स्तारोन्नति गर्न पहल थाल्ने जनाएको थियो । सत्तारूढ र प्रतिपक्षी दलहरु सडक विस्तारको पक्षमा रहेकाले राजनीतिक सहमतिअनुसार प्रक्रिया शुरु गरिने अमरगढी नगरपालिकाले जनाएको छ ।