भ्रष्टाचार काण्डको छानबिन गर्न माग

0
Shares

काठमाडौं, (नेस)

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ठूला भ्रष्टाचार काण्डको गहिरो छानबिन गर्न सार्वजनिक दबाब बढाउनुपर्ने बताउनुभएको छ ।

भ्रष्टाचारका फाइल खोल्न र कारबाही गर्न सिंगो देशले माग गरिरहेको उहाँको भनाइ छ । वाइड बडी जहाज खरिदमा भएको अनियमिततादेखि लडाकूको राशनसम्म छानबिन गरिनुपर्ने शर्माले बताउनुभएको हो ।

‘भ्रष्टाचारका फाइल खोल्न र कारवाही गर्न सिंगो देशको माग छ’, बिहीबार ट्वीट गर्दै प्रवक्ता शर्माले भन्नुभएको छ– ‘वाइड बडी, ओम्नी, बालुवाटार, प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्ट अनि लडाकूको राश समेत भ्रष्टाचारबारे गहिरोसँग छानबिन गरी कारबाही अघि बढाउन दबाब बढाउनुपर्छ ।’

उहाँले गत मंसिरमा कांग्रेसले तयार पारेर प्रकाशित गरेको बूढीगण्डकी आयोजनाबारेको छोटो भिडिओ पनि ट्वीट गर्नुभएको छ ।

हालै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बूढीगण्डकीमा ९ अर्ब कमिसन बाँडेर खाएको र त्यसको प्रमाण पेस गर्न परे आफू तयार रहेको बताएका थिए ।

त्यसपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र कांग्रेस प्रवक्ता शर्माले विज्ञप्ति निकालेर भट्टराईलाई उक्त आरोप पुष्टि गर्न चुनौती दिएका थिए ।

भट्टराईले भने छानबिनका लागि उच्चस्तरीय र निष्पक्ष छानबिन समिति बनाउनुपर्ने माग गरिरहनुभएको छ ।