एयरबसमा रेस्टुरेन्ट : प्रतिव्यक्ति ४ सय ९६ अमेरिकी डलर शुल्क


सिंगापुर सिटी, (एजेन्सी)

सिंगारपुरवासीले अब शहरकै मुख्य विमानस्थलमा रोकेर राखिएको एयरबस ए–३८० विमानमा रात्रि भोजन गर्ने अवसर पाउने भएका छन्। सो सानदार रात्रि भोजनका लागि प्रतिव्यक्ति ४ सय ९६ अमेरिकी डलर शुल्क लाग्ने भए पनि पहिलो दुई सिफ्टका सम्पूर्ण टिकट आधा घण्टाभित्रै बिक्री भएको आयोजक समूहले पत्रकारलाई जानकारी दिएका छन्। तत्कालै उक्त एयरलाइनले लन्च तथा डिनरका लागि अर्को दुईवटा कार्यक्रमको घोषणा गरिसकेको छ।

कोरोना भाइरस महामारीका कारण लकडाउन गरिएकाले विश्वका अधिकांश महत्वपूर्ण एयरलाइनले आफ्ना विमान ग्राउन्डिङ गर्न बाध्य भएका थिए। आफूहरूले गुमाउनुपरेको आम्दानी अन्य विभिन्न तरिकाले संकलन गर्ने विधिअन्तर्गत सिंगापुर एयरलाइनले यो कदम उठाएको हो। एयरलाइनले हाललाई प्रत्येक तीन घण्टाको यस्तो कार्यक्रम सञ्चालन गर्न दुईवटा एयरबस ए–३८० विमान प्रयोग गर्ने निर्णय गरेको हो।

सामाजिक दूरी नियमको पूर्णपालना गर्दै डिनर र लन्च लिने व्यवस्था गरिएको बताइएको छ। ग्राहकले निकै सस्तो पर्ने क्याजिन क्लास अर्थात् इकोनोमिक सिटमा बसेर पनि डिनर लिँदै फिल्म हेर्न सक्नेछन्। त्यसका लागि भने प्रतिव्यक्ति ३९ डलर मात्र लाग्नेछ।

एयरलाइनले आफ्ना सामानहरू प्रयोग गरी तयारी खानाको होम डेलिभरी पनि गर्दै छ। यसअघि नै ताइवानको एभा र अस्ट्रेलियाको क्वान्तास एयरलायन्सले विमान उडेकै विमानस्थलमा फर्कने गरी दृश्यावलोकन उडान सञ्चालन गरिसकेका छन्।