यो जीवन कसको हो ?



  • प्रेम रावत

तपाईँलाई प्राप्त भएको मानिसको शरीर ६ वटा पदार्थद्वारा निर्मित छ– हाइड्रोजन, अक्सिजन, कार्बन, क्याल्सियम, नाइट्रोजन अनि फोस्फोरस । हामी सबै यिनै पदार्थबाट बनेका छौँ । मानिस–मानिसका बीचमा हामी जुन अन्तर देख्छौँ यही अन्तरले नै संसारलाई विभाजन गरिरहेको छ । मानिसले यो कुरालाई भुलिरहेका छन्, उनीहरू जुन पदार्थको मिश्रणद्वारा बनेका छन् तिनै पदार्थद्वारा अरु व्यक्तिहरू पनि बनेका छन् । तपाईँलाई पनि तिर्खा लाग्छ, मलाई पनि तिर्खा लाग्छ । अनपढलाई पनि प्यास लाग्छ, पढालेखालाई पनि प्यास लाग्छ ।

गरिबलाई पनि प्यास लाग्छ, धनीलाई पनि तिर्खा लाग्छ । सानो सैनिक जवानलाई पनि तिर्खा लाग्छ अनि ठूला अफिसरलाई पनि तिर्खा लाग्छ । सबैलाई तिर्खा लाग्छ । तथापि, यस्तो दृष्टिकोण राखेर हामीले हेर्न छोडेका छौँ । आज हामी मानिसलाई कुन दृष्टिकोणले हेर्छौँ– सबैभन्दा पहिला उनी महिला हुन्, ‘यिनी पुरुष हुन्’ । यो गरिब छ, ऊ धनी छ । यो पढालेखा छ, ऊ अनपढ छ ।

हामी सबै मानिस हौँ तर मानिसमा मानवता हराएको छ । मानिसमा मानवता विकसित नभएसम्म विश्वमा शान्ति स्थापना गर्ने कार्य सम्भव हुँदैन । अनि, मानिसमा मानवता तब मात्र आउनेछ जब उसले आफ्नो मानवतालाई चिन्न थाल्छ– ‘म के हुँ !’ हामीले के कुरालाई बुझ्नु आवश्यक छ भने हामीलाई जीवित राख्ने हामीभित्रको त्यो कस्तो शक्ति हो ? त्यही शक्तिले हामीलाई जीवित राखेको छ । जुन मानिसको शरीर हामीलाई प्राप्त भएको छ, यो सृष्टिकर्ताको उपहार हो ।

यदि तपाईँलाई कुनै उपहार प्राप्त भयो अनि तपाईँले त्यो उपहारलाई स्वीकार गर्नुभएन भने त्यो उपहार कसको हुन्छ ? जब तपाईँले त्यसलाई स्वीकार गर्नुहुन्छ तब मात्रै त्यो उपहार तपाईँको हुन्छ । त्यसै गरी कसैले तपाईँसँग तीतो कुरा गरे पनि तपाईँले त्यसलाई स्वीकार गर्नुभएन भने त्यो कसको हुन्छ ? उसैको हुन्छ, जसले तीतो बोल्यो । त्यो तपाईँको हुँदैन ।

ठीक यसै गरी तपाईँलाई सृष्टिकर्ताले यो जीवन दिएका छन् । यदि तपाईँले यो जीवनलाई स्वीकार नै नगरे यो कसको हुन्छ ? उनैको हुन्छ, तपाईँको हुँदैन । आफ्नो जिन्दगी जिउनका लागि यो जीवनलाई पनि स्वीकार गर्नु अत्यन्तै आवश्यक हुन्छ । यो जीवन कसको हो ! यदि तपाईँले यो जीवनलाई स्वीकार गर्नुभएमा मात्रै यो जिन्दगी तपाईँको हुन्छ ।

एउटा कथा छ । एकपटक भगवान् बुद्ध आफ्ना एकजना शिष्यसँग कतै गइरहेका थिए । त्यस शहरका मानिसहरूले भगवान् बुद्ध र उनका शिष्यलाई देखेपछि सबैले उनीहरूलाई तथानाम गाली गर्न थाले– ‘तपाईँ खराब हुनुहुन्छ । तपाईँ यो गर्नुहुन्न, त्यो गर्नुहुन्न ।’

भगवान् बुद्धका शिष्यले उनलाई सोधे, ‘यत्तिका धेरै मानिसहरूले हजुरका बारेमा गलत कुरा गरिरहेका छन् । भनिरहेका छन् । के यी कुराहरू सुनेर तपाईँलाई रिस उठ्दैन ।’

त्यसपछि उनले एउटा कचौरा लिएर शिष्यतर्पm सारिदिए । अनि, भने– ‘यो कसको हो ?’
उनका शिष्यले भने, ‘यो हजुरको हो ।’
फेरि उनले अलिकति अभैm सारेर सोधे, ‘यो अब कसको हो ?’
शिष्यले भने, ‘यो अहिले पनि हजुरकै हो ।’
उनले यस्तै गरिरहे अनि सोध्दै गए, ‘यो कसको हो । यो कसको हो !’ शिष्यले भनिरहे, ‘यो हजुरको हो । यो हजुरको हो ।’

अब भने उनले त्यो कचौरालाई ती शिष्यको काखैमा राखिदिए । अनि, भने– ‘अबचाहिँ यो कसको हो ?’
शिष्यले भने, ‘यो अहिले पनि हजुरकै हो ।’

भगवान् बुद्धले भने, ‘एकदम सही कुरा हो ।’ त्यसैले जबसम्म म खराबीलाई अपनाउँदिन तबसम्म यो मेरो हुँदैन । अनि, यो पनि त्यस्तै कुरा हो– यदि हामीले यस उपहारलाई अपनाउँदैनौँ भने यो हाम्रो हुँदैन । हामी यो संसारमा आउँछौँ अनि एकदिन हामीले यहाँबाट जानुपर्ने हुन्छ । तब मात्रै हामी यसबारेमा सोच्न थाल्छौँ । धेरैजसो मानिसहरूको अवस्था यस्तै हुन्छ । अन्तिम क्षणमा मानिस भन्दछ, ‘मैले अहिलेसम्म के गरेँ ?’

तर, अभैm त्यो मौका छ । अहिले तपाईँ जीवित हुनुहुन्छ अनि तपाईँ ती सबै कार्य गर्न सक्नुहुन्छ, जुन यो जीवनमा सम्भव पनि छ । अतः कुरा के हो भने, यो जीवनको एउटा अर्को सौन्दर्य पनि छ– जतिखेर तपाईँ यो उपहारलाई स्वीकार्न चाहनुहुन्छ त्यतिखेरै यो तपाईँको हुन्छ । यसर्थ धेरै केही बिग्रेको छैन । के मात्रै हो भने, जुन दिन तपाईँ यसलाई स्वीकार गर्नुहुन्छ त्यो तपाईँको हुन्छ । जीवित हुँदै यस कुरालाई स्वीकार गर्नुहोस् अनि यसको कदर गर्नुहोस् । जीवित हुँदै के कुरालाई स्वीकार गर्नुहोस् भने, यो जीवन वास्तवमा मेरा लागि प्राप्त भएको हो र मैले आफ्नो जीवनलाई सफल पार्नुपर्छ ।

संसारले त भन्छ– ‘हाम्रा पनि केही आवश्यकता छन् ।’ अनि, हामी सबै तिनै आवश्यकता पूरा गर्न सधैँ केही न केही गरिरहन्छौँ । मानिसका जुन निजी आवश्यकता छन्, तिनलाई पूरा गर्न भने ऊ कहिल्यै पनि चिन्तित हुँदैन । समाजले हामीलाई भनिरहेका आवश्यकतालाई पूरा गर्नमा त मानिस निकै चिन्तित हुन्छन् । मानिसहरू अन्य थुप्रै आवश्यकतालाई पूरा गर्न तल्लीन हुन्छन् । तर, ‘यो मेरो जीवन हो, म जीवित छु, मेरो जीवनमा एक–एक श्वास आइरहेको छ गइरहेको छ’ भनेर कहिल्यै सोच्दैनन् । एकदिन त यस्तो अवस्था पनि आउँछ, म जीवित रहँदिन ।

मलाई त्यो दिन कहिले आउँछ, थाहा छैन तर एक दिन अवश्य आउँछ भन्नेचाहिँ थाहा छ । मेरा सबै इच्छा त कहिल्यै पनि पूरा हुँदैनन् । तर, जबसम्म म जीवित छु म आफ्नो वास्तविक आवश्यकतालाई त पूरा गर्दै जान सक्छु ! परमानन्दको सुखको अनुभव गर्नु, परम् शान्तिको अनुभव गर्नु नै वास्तविक आवश्यकता हो । यदि सबै चीजको अनुभव गरे पनि त्यो वास्तविक चीजको अनुभव गरेनौँ भने यो संसारमा खालि हात आएका थियौँ र खालि हात नै जानुपर्नेछ । त्यसैले आफ्नो जीवनमा वास्तविक सुखलाई अपनाउनुहोस् ।

जीवनमा हामीले अर्को कदम उठाएर टेक्नुभन्दा पहिला पछिल्लो कदमलाई छोड्नुपर्छ । सफलताको निर्माण हाम्रो अगाडि बढ्ने क्षमता तथा सिक्ने र विकसित हुने योग्यतामा निर्भर गर्दछ । अगाडि बढ्न र आपूmलाई विकसित तुल्याउनका निम्ति हामीले जीवनमा जुन ठीक छ, त्यसलाई ग्रहण गर्नुपर्दछ । स्वीकार गर्नुपर्दछ । जुन अनावश्यक छ, त्यसलाई पछाडि छोडिदिनुपर्छ ।

हामीले जति धेरै कुराहरूलाई यसो गर्दै जान्छौँ, त्यति नै धेरै सफलता प्राप्त हुनेछ । माथिको कथाले हामीलाई दिने सन्देश के हो भने, कुनै दिन हामी आफ्ना लागि आपूm नै सबैभन्दा ठूलो शत्रु बन्दछौँ । हामीले आफ्नो एउटा स्वभाव बनाएका छौँ– हामी चीजहरूलाई यथार्थमा भए जसरी स्वीकार गर्दैनौँ । बरु हरेक चीजलाई आफ्नै दृष्टिकोणद्वारा हेर्दछौँ । केही मानिसहरूले मसँग सोध्नुहुन्छ– ‘के जीवनमा सबै कुरा भाग्यबाट तय हुँदैन त ?

फेरि यसो हो भने र यदि सबै कुरा पूर्वनिर्धारित नै हुन्छ भने मसँग के उपाय रहला ?’ यदि तपाईँको भाग्यका तास पहिले नै फिटेर बाँडिसकिएको छ भने त तपाईँ निर्णय लिने व्यक्ति त होइन ! म उत्तर दिन्छु, ‘होइन । यी कुराहरू भाग्यबाट तय हुँदैनन् । हाम्रो आफ्नो भ्रम, हाम्रा आफ्ना द्विविधाहरूले नै हामीलाई गलत विकल्पहरूलाई अपनाउनका लागि बाध्य तुल्याउँछन् । हाम्रो धेरैजसो दुःखको कारण पनि यही हो । तर, जब हामी यी विचारलाई छोडिदिन्छौँ, तब हामी ती कुराहरूलाई जस्तो छ त्यही रूपमा देख्न थाल्नेछौँ । त्यसपछि हामीसँग सारा विकल्पहरू हुनेछन् ।

यदि हामीले जागृत हृदयबाट सोचविचार गरेर कुनै बाटोलाई चुन्छौँ भने अँध्यारोमा दियो बालेजस्तै हुन्छ । चाहे एउटा दियो जति नै सानो होओस् तर त्यो बलेपछि त्यसले वास्तविक चीजलाई देखाइदिन्छ । त्यसपछि हामीले देख्न थाल्छौँ । हामीले अँध्यारोमा देख्न नपाएका कुरालाई देख्न थाल्छौँ । सचेत भएर चुन्ने शक्ति तपाईँमा विकसित हुन्छ । त्यो तपाईँको आफ्नो दियो हो, जसले अँध्यारोलाई भगाउँछ ।

यो संसार त समस्याहरूले भरिएको छ तर यहाँ धेरै आनन्द पनि छ । हो, कालो–घना बादलहरूको एउटा मोटो तह हुन सक्छ तर त्यसको ठीकमाथि चम्किलो सफा–नीलो आकाश अवस्थित छ । सूर्य पनि आफ्नो चम्किलो किरणको साथमा बलिरहेको छ । अब यो प्रश्न उठ्न सक्छ– तपाईँ कहाँनिर रहन चाहनुहुन्छ ? यो कुरा तपाईँको छनोटमा निर्भर रहन्छ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्