साउन १३ गतेदेखि स्थगित नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने


काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भदौ २६ गतेका लागि बोलाउने सहमति भएको छ ।

सोमबार बिहान पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा महासचिव विष्णु पौडेल समेतको बैठकले साउन १३ गतेदेखि स्थगित रहेको स्थायी कमिटी बैठक भदौ २५ गते बोलाउने सहमति भएको हो ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्ष र महासचिव समेत सहभागी बैठकले भदौ २६ गते स्थायी कमिटी बैठक बोलाउने सहमति गरेको हो ।

गत असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने आवाज उठेपछि नेकपाभित्रको विवाद चर्किएको थियो ।

आन्तरिक विवाद चुलिँदै गएपछि पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक साउन १३ गते यता बस्न सकेको छैन ।

साउन १३ गतेको बैठक प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले एकल निर्णयबाट अनिश्चित समयका लागि स्थगित गरेका थिए ।

अध्यक्ष ओलीले एकलौटी रुपमा स्थायी कमिटी बैठक स्थगित गरेको भन्दै अर्का अध्यक्ष प्रचण्ड पक्षधर स्थायी कमिटी सदस्यहरुको बालुवाटारमा छुट्टै बैठक बसेको थियो ।

बहुमत स्थायी कमिटी सदस्यहरु सहभागी भनिएको उक्त बैठकलाई ओली र उनी पक्षधर नेताहरुले भने गुटगत भेलाको संज्ञा दिएका थिए ।

सोही भेलाले पार्टीको आन्तरिक विवाद समाधानका लागि ओलीसँग छलफल गर्न भनेर अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको थियो ।

त्यसयता ओली र प्रचण्डबीच पटक पटक एकल र अरु नेताहरु समेत सहभागी गराएर बैठक हुँदै आएको छ । साउन अन्तिमतिर ओली र प्रचण्डले पार्टी विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

उक्त कार्यदलले भदौ पहिलो साताको अन्तमतिर अध्यक्षद्वयलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।

कार्यदलले प्रतिवेदन बुझाएपछि केही दिन बसेको पार्टी सचिवालय बैठकले छिट्टै स्थायी कमिटी बैठक बोलाउने जिम्मा अध्यक्षद्वयलाई दिएको थियो । अबको स्थायी कमिटी बैठकमा यसअघि निर्धारण गरिएका नियमित एजेन्डाहरुमै छलफल हुने जनाइएको छ ।