झापामा मानव बेच–विखन बढ्दो


उत्तम नेपाल, भद्रपुर

वर्षेनी मानव बेच–विखनको अवस्था भयावह हँुदा समाज आक्रान्त छ । झापाका मुख्य दुई नाका काँकडभिट्टा र भद्रपुरबाट मानव तस्करले छिमेकी भारतसँगै तेस्रो मुलुक लैजाने गरेको अनुसन्धानले देखाएको छ ।

यस्ता आपराधिक क्रियाकलाप रोक्न प्रहरी युनिटदेखि अनेकौं एनजीओ, आईएनजीओ छरपस्ट देखिएका छन् । तर, चेलीबेटी बेचिने क्रम भने घटेको छैन । विशेष गरी १८ देखि २४ वर्षसम्मका युवायुवती मानव बेच–विखनको उच्च जोखिममा रहेको तथ्याङ्कले देखाएको छ । विगतमा चेलीबेटी बेच–विखन हुने गरेको पाइए पनि पछिल्लो समयमा मानव बेच–विखन नै हुन थालेको छ ।

झापामा जिल्ला प्रहरी, सानाहात, माइती नेपाल र आफन्त नेपालले यसको निगरानी गरिरहेका छन् । यी निकायको तथ्याङ्कलाई आधार मान्दा मानव बेच–विखन भयावह छ । माइती नेपालले आर्थिक वर्ष ०७५÷७६ मा १ सय ३० जनालाई नाकाबाट फर्काएर आफन्तकोमा बुझाएको छ । २४ जनालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याएको प्रमुख गोविन्द घिमिरेले जानकारी दिनुभयो ।

त्यसै गरी १ सय १४ जनाको उजुरी परेकोमा ३४ जना फेला पारिएको उहाँले बताउनुभयो । त्यस्तै आर्थिक वर्ष ०७६÷७७ मा १ सय ५७ जनालाई उद्धार गरिएको र एउटा मुद्दा दर्ता भएको उहाँको कथन छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा आर्थिक वर्ष ०७५÷७६ मा अघिल्लो वर्षको तुलनामा भने केही घटेर १५ वटा दर्ता भएकोमा १९ पुरुष र ७ महिला गरी २६ जना पक्राउ परेको जिल्लाका डीएसपी राकेश थापा बताउनुहुन्छ । १८ जनालाई उद्धार गरिएको र ३ पुरुष र एक महिला फरार रहेको उहाँले जनाउनुभयो ।

त्यस्तै, ०७६÷७७ मा १३ पुरुष र बाँकी महिला गरी २२ जना पक्राउ परेका थिए । ११ वटा मुद्दा दर्तामा ९ वटा फछ्र्यौट भएको छ । चालू आर्थिक वर्षको हालसम्म मुद्दा दर्ता नभएको प्रहरीले जनाएको छ ।

त्यसै गरी, साना हात नेपालले ०७५÷०७६ मा मानव बेच–विखनको जोखिममा परेका १५ वर्षमुनिका ६ जनासहित ६४ जना पीडितको उद्धार गरेको जनाएको छ । १५ जनाको हराएको निवेदन आएको र फेला परेको १०  जना रहेका छन् । ६ वटा मुद्दा दर्ता  गरिएको स्टेसन मेनेजर विक्रम वाग्लेले बताउनुभयो । ०७६÷०७७ मा बेच–विखनको जोखिममा परेका २ सय ९ जना पीडितको उद्धार गरिएकामा १५ वर्षमुनिका १३ जना रहेको उहाँको भनाइ छ ।

हराएको निवेदन संख्या ९ वटा रहेको छ भने हराएका ७ जना फेला परेको उहाँले जानाउनुभयो ।

आफन्त नेपालले दुई आर्थिक वर्षको अवधिमा ३ हजार ६ सय जनालाई सूचना तथा परामर्श दिएको छ । संस्थाले १ सय ६ जनालाई पारिवारिक पुनर्मिलन गरिएको बोर्डर इन्चार्ज मातृका गुरुङले भन्नुभयो । मानव बेच–विखनमा १० वटा मुद्दा दर्ता भएकोमा ६ जना कारागार गएको र बाँकी फरार रहेका । प्रहरीको सहयोगमा १ सय ५८ जनालाई उद्धार गरिएको गुरुङको कथन छ ।

कसरी हुन्छ बेच–विखन ?
मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई–फकाई, प्रलोभनमा पारी झुक्याएर, जालसाज, प्रपञ्च मिलाई जबरजस्ती, करकापमा पार्ने गरिएको देखिन्छ । त्यस्तै अपहरण, शरीर बन्धक राखी नाजुक स्थितिको फाइदा लिई, बेहोस पारेर, पद वा शक्तिको दुरुपयोग पनि यसको कारण हो । साथै अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लैजाने गरेका हुन्छन् । त्यस्तै आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँ वा विदेशमा लैजाने वा अरू कसैलाई दिने मानव तस्करको काम हुन आउँछ ।

भारतसँग नेपालको खल्ला सिमाना, पर्याप्त रोजगारीको अवसरको अभाव, गरिबी, बढ्दो राजनीतिक अस्थिरता, बाबुआमा संरक्षक नभएका र जोखिममा परेका महिला बालबालिका बेच–विखन हुने गरेका छन् । चेलीबेटी बेच–विखनको मुख्य कारण गरीबी, सामाजिक विभेद, अशिक्षा, अज्ञानता आदि हुन् । मानव बेच–विखन तथा ओसार–पसार (नियन्त्रण) ऐन–२०६४ र नियमावली २०६५ मा कानुनी व्यवस्था उल्लेख गरिएको छ ।