युवकले गुमाए क्वारेन्टाइनमै ज्यान, रिपोर्ट आउन बाँकी



इलाम, (नेस)
भारतको हैदरावादबाट क्वारेन्टाइनमा बसेका एक युवकको इलाममा मृत्यु भएको छ । कोरोना भाइरसको लक्षण जस्तै देखिएका इलाम सूर्योदय नगरपालिका–९ का २२ वर्षीय युवकको आइतबार राति मृत्यु भएको हो ।

सूर्याेदय नगरपालिकास्थित करफोक माविको क्वारेन्टाइनमा गत साउन २६ गतेदेखि बसेका उनलाई आइतबार राती रुघाखोकी, ज्वरो आएको थियो । कोरोनाको जस्तै लक्षण देखिएपछि राति नै चिकित्सकको टोली क्वारेन्टाइनमा पुगेको थियो ।

तर, उनको राती ११ बजे निधन भएको नगरपालिकाकी उपमेयर दुर्गादेवी भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार मृतकको पीसीआर परीक्षणका लागि गत साउन २९ गते स्वाब संकलन गरी विराटनगर पठाइए पनि रिपोर्ट आउन बाँकी रहेको बताउनुभयो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि उनको मृत्युका कारण रिपोर्ट नआई थाहा नहुने बताइएको छ ।

कोरोनाकै कारण मृत्यु भएको रिपोर्ट आएको खण्डमा मृतकको शव व्यवस्थापन कहाँ कसरी गर्ने भन्ने बारेमा आजै नगर कार्यपालिकाको बैठक बसेर निर्णय गरीने उपमेयर भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्