रिल लाइफका चक्लेटी हिरो पल शाह कोरोना संक्रमणको जोखिमका कारण लगाइएको लकडाउनका समयमा रियल हिरोका रूपमा देखा परे। पल आफूले काम गरिरहेको फिल्म क्षेत्रका प्राविधिकहरूलाई आफ्नै खल्तीको रकमबाट ५ लाख रुपियाँको राहत प्रदान गरेर रियल हिरोका रूपमा देखिएका हुन्। आफैं राजधानीको ओम शान्ति चोकस्थित डेरामा बसेर जीवनयापन गर्दै आएका दाङका पल हुँदामात्र खान सक्ने अवस्थाका प्राविधिकहरूलाई जटिल समयमा सहयोग गरेर रियल हिरोमात्र होइन, कमलो र उदार मनका नायकका रूपमा समेत प्रशंसित भए।खास गरी धेरैजसोले चन्दा उठाएर राहत बाँड्दै आफूलाई समाजसेवी भनाइरहेका बेला पलले खल्तीमा भए/नभएको रकम झिकी किनमेल गरेर राहत बाँडी प्राविधिकलाई लगाउनु गुण लगाइदिए। दिनभर मेहनत गरेर आज खान आजै कमाउनुपर्ने अवस्थाका प्राविधिकका लागि आफैं किनमेल गरेर घर–घरमै गएर राशन प्रदान गरेर मनका धनीका रूपमा चिनिएका पल लकडाउन खुकुलो भएदेखि फेरि म्युजिक भिडियोमा देखिन थालेका छन्। पछिल्लो समयमा निर्माता निर्देशक र वितरकको रोजाइमा पर्दै आएका उनै पलसँग नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीले विविध विषयमा गरेको कुराकानी यहाँ प्रस्तुत छ :
हिजोआज के गर्दै हुनुहुन्छ?
कोभिडको जोखिमका कारण धेरैजसो समय अहिले पनि घरमै बितिरहेको छ। त्योबाहेक केही सुटिङको काम पनि गर्न थालको छु। कोरोनाले गर्दा फिल्मका कामहरू महिनापछाडि सरेको छ। अहिले सेफ्टी अपनाएर म्युजिक भिडियो काम गरिरहेको छु।
लकडाउनपछि धमाधम म्युजिक भिडियोमा देखिन थाल्नुभयो नि?
धमाधम त नभनौं, तर केही म्युजिक भिडियोमा काम गरिरहेको छु। लकडाउन लुजडाउनमा परिणत भएपछि दर्शकको कि गाली खाइन्छ, कि माया पाइन्छ भन्ने रिस्क लिएर ए है माया बोलको गीतको म्युजिक भिडियो ल्यायौं। त्यो गीतको म्युजिक भिडियो लुजडाउनको भोलि कि पर्सिपल्ट नै गरिएको थियो।
हामीलाई डर थियो कि यस्तो कारोनाको त्रासको बेलामा पनि म्युजिक भिडियो निकाल्यो भनेर गाली खाइन्छ। यो बेला पनि म्युजिक भिडियोबाटै भए पनि इन्टरटेनमेन्ट दियो भनेर माया गर्नुहुन्छ कि भन्ने आशा पनि थियो। तर, दर्शकले माया नै गर्नुभयो। दर्शकले त्यो म्युजिक भिडियोलाई पहिलेभन्दा राम्रो रेस्पोन्स गर्नुभयो, माया गर्नुभयो। त्यसपछि थप म्युजिक भिडियोहरूमा काम गरिरहेको छु।
लकडाउनपछि फिल्ममा चलेका कलाकारले म्युजिक भिडियोमा ठाउँ ओगट्न थाले भन्ने आरोप लाग्न थालेको छ नि?
मलाई त त्यस्तो लाग्दैन। किनभने हामीले काम माग्दै हिँडेको होइन। गीतको सिंगर र निर्माताले जसलाई अफर गर्छ, उसैले काम गर्ने हो नि। एउटा म्युजिक भिडियो निर्माण गर्न ५/७ लाख रुपियाँ खर्च लाग्छ।
त्यत्रो खर्च गरेपछि यो कलाकार राख्छु भन्ने अधिकार उहाँहरूलाई हुन्छ। मेरो केसमा म म्युजिक भिडियोबाट नै यो क्षेत्रमा आएको हो। म्युजिक भिडियो मेरो आफ्नै घर हो, त्यसैले घर फर्किंदा कसैले गाली गर्दैन।
कमाइ र कामको हिसाबले म्युजिक भिडियो कत्तिको फाइदाजनक भइरहेको छ?
म्युजिक भिडियोबाट धेरै फाइदा छ। पहिलो कुरा त यसको तुरुन्तै रिजल्ट आउँछ। आज गरेको कामको रिजल्ट हप्ता दिनमै आइहाल्छ। दर्शकको माया पाइन्छ या पाइँदैन भन्ने तुरुन्तै थाहा भइहाल्छ।
आर्थिक हिसाबमा पनि एकदमै फाइदा छ। चलेको आर्टिस्टले १ देखि डेढ लाख रुपियाँसम्म पाउने भएकाले यसबाट सस्टेन हुन इजी हुन्छ।
तपाईंचाहिँ एउटा भिडियो खेलेको कति लिनु हुन्छ ?
मिनिमम एकदेखि डेढ लाख रुपियाँ लिन्छु। पारिश्रमिक कति लिने भन्ने कुरा गीत हेरेर हुन्छ। दोहोरी गीत छ, लामो र लेट छ भने डेढ लाख लिइन्छ, छोटो मीठो गीतको म्युजिक भिडियोमा एक लाख रुपियाँ लिइन्छ।
आफ्नै दैनिकी कसरी चलाउँ भन्ने लकडाउनको समयमा तपार्ईंले ५ लाख रुपियाँ खर्च गरेर राहत बाँड्नुभयो है ?
हजुर, त्यो बेलामा मैले हाम्रो क्षेत्रमा काम गर्ने प्राविधिक सबैलाई गाह्रो भएको पाएँ। सबैलाई लकडाउन कहिले खुल्ला, ६÷७ महिना जाला भन्ने भयले सताइरहेको पाएँ। मैले क्यामरा र लाइटमा होइन, स्पट ब्वाइदेखि नै समस्या भएको पाएँ। धेरै टेक्निसियन मेरो फेसबुक फ्रेन्ड हुनुहुन्छ। उहाँहरूसँग मेसेन्जरमा कुरा भइरहन्थ्यो।
सबैले लकडाउनले गाह्रो भयो भन्ने कुरा गरिरहनुभएको थियो। त्यसपछि मलाई केही गर्न सक्छु कि भन्ने लाग्यो र नेफ्टा (नेपाल चलचित्र प्राविधिक संघ) का अध्यक्ष पुष्कर लामासँग आज काम गरेर आजै खानुपर्ने प्राविधि कति होलान् भन्ने जानकारी लिएँ। हाम्रो इन्डस्ट्रीमा त्यस्तो प्राविधिक हजार जनासम्म हुनुहुँदोरहेछ।
शुरूमा ४०/५० घरलाई हेर्ने मेरो सोच थियो। मसँग खासै पैसा पनि थिएन। पूर्वमा जग्गामा लगानी गरेको थिएँ। त्यसैले बैंक अकाउन्टमा ७ लाख जतिमात्र थियो। त्यही पैसामध्येबाट २ सय प्राविधिकको घरलाई हेर्छु भन्ने जोश र आँट आयो।
हामीसँगै फिल्म र म्युजिक भिडियोमा काम गर्ने प्राविधिकहरू समस्यामा छन्, पैसा ठूलो होइन यो बेलामा सहयोग गर्नुपर्छ। आखिर मैले यो पैसा म्युजिक भिडियो र फिल्मबाटै कमाएको होे। अहिले उहाँहरूलाई गाह्रो छ, मलाई परेका बेला भगवान्ले हेर्नुहुन्छ भन्ने आँटले सहयोग गरेको हुँ।
राहतमा के–के थियो? पीडितको पहिचान कसरी गर्नुभयो ?
शुरूमा ४०/५० प्राविधिकको परिवारलाई सहयोग गर्छु भन्ने सोच थियो। पछि कुल साँढे दुई सय जनालाई सहयोग गर्न सकें। उहाँहरूलाई कुल ५ हजार किलो चामल, ५ सय केजी दाल, ४ सय केजी आटाको पीठो, २ सय केजी नुन, २ सय प्याकेट मस्यौरा, ४ हजार लिटर तेल, २ सय दर्जन बिस्कुट र ४ सय पिस साबुन सहयोग गर्न सकें।
७० पर्सेन्ट टेक्निसियन मैले काम गरेको र चिनेकै हुनुहुन्थ्यो। बाँकीचाहिँ नेफ्टाको टिमसँगै बसेर हुँदा खाने टेक्निसयन छान्यौं। त्यसमध्ये एक/दुई जना क्यामराम्यान, फाइट डाइरेक्टर, डान्स डाइरेक्टर र डान्सर पनि हुनुहुन्थ्यो। मैले कुनै संस्थालाई पैसा दिएको भए वास्तविक पीडितकहाँ नपुग्न पनि सक्थ्यो। फेयर होस्, मैले खर्च गरेको पैसा सही ठाउँमा पुगोस् भनेर राशन आफैं किन्न गएँ र बहिनीसँग आफैं गएर दिएँ।
प्रायःले अरूबाट चन्दा उठाएर राहत प्रदान गर्ने गर्छन्, तपाईंले चाहिँ आफ्नै खल्तीबाट खर्च गरेर राहत दिनुभयो?
मलाई धेरै जनाले तिमीलेआह्वान गरेको भए धेरै पैसा उठ्थ्यो, किन आफ्नै पैसा खर्च गरेको भन्नुभयो। तर, मलाई मनबाटै आफैंले सहयोग गर्नुपर्छ, धर्म लाग्छ भन्ने लाग्यो।
सुटिङ वा अन्य ठाउँमा भेट्दा कतिपय टेक्निसियन अहिलेसम्म पनि तपाईंको चामलले २ महिना पुग्यो, तपाईंले गर्दा बाँचियो, सजिलो भयो, गर्जो ट-यो भन्नुहुन्छ। यस्तो कुरा सुन्दा आत्मसन्तुष्टि मिल्छ।
रकमको जोहो सबै आफैंले नै गुर्नभयो ?
हो आफैंले गरें। बैंकमा भएको ५ लाख रुपियाँ झिकें र सामान किनेर दिएँ। टोटल ५ लाख ४ हजार खर्च भयो। मैले सोचेरै सहयोग गरेको हो। मैले टेक्निसियनलाई सहयोग गर्छु भनेपछि फ्यामिलीले राम्रो कुरा हो, तर लकडाउन लामो समय गयो भने आफूलाई पनि गाह्रो हुन्छ कि भन्नुभएको थियो। मैले जसो पर्ला त्यसै टर्ला भन्ने सोचें।
डर त मलाई पनि थियो। किनभने केही दुर्घटना भयो, बिरामी भयो वा लकडाउन लामो समस्या गयो भने म आफैं पनि ठूलो आर्थिक समस्यामा पर्न सक्थें। नेफ्टालाई अहिले म सहयोग गर्छु, मलाई प-यो भने तपाईंहरूले सहयोग गर्नुपर्छ पनि भनें। तर, पछि पनि कमाउन सकिन्छ नि भन्ने मेरो मनमा थियो।
अहिले पनि राहतका लागि फोन आउँछ कि ?
आउँछ, कतिले हामीलाई चाहिँ सहयोग नगर्ने भनेर गाली पनि गर्नुहुन्छ। मनको धनी हुनुहुँदोरहेछ, मलाई गाह्रो प¥यो सहयोग गर्दिनुप¥यो भनेर कतिपय गाउँका पीडित, बिरामी अपांगता भएकाले फोन गर्नुहुन्छ।
तर, मसँग भएको रकम नै सकिइसक्यो अब मैले कसरी दिउँ? सबैले बुझिदिनुपर्छ, मैले धन भएर सहयोग गरेको होइन, मन भएर गरेको हो।
फिल्मको काम नहुँदा कस्तो लागिरहेको छ ?
कोभिडले गर्दा फिल्मको काम हुन सकिरहेको छैन। एक्चुएल्ली मिस गरिरहेको छु। तर, त्यसलाई म्युजिक भिडियोबाट मेटाइरहेको छु। म्युजिक भिडियोबाट राम्रो अफर आइरहेको छ। फिल्मको मान्छेहरूसँग पनि कुरा भइरहेको छ।
दशैंतिहारपछि काम शुरू हुन्छ कि भन्ने छ। हालसालै सन्तोष सनेका हुतुतु फिल्ममा साइन गरें। नयाँ फिल्मको स्क्रिप्ट हेरिरहेको छु, गर्नेजस्तो कुरा भइरहको छ। स्थिति सामान्य भएपछि म यस्तो गीत गाउँछु–२, हृदयभरि रिलिज हुने पर्खाइमा छु।
हिजोआज प्रेममा हुनुहुन्छ ?
अहिले म प्रेममा छैन, लभ गर्नका लागि राइट पर्सन भेटको छैन। राइट पर्सन भेट्यो भने लभ हुन्छ होला। हिजोआज कलाकारका स्क्यान्डल र विवादहरू किन यसरी छताछुल्ल भएका होलान्?
मलाई लाग्छ कतै सोध्न नमिल्ने प्रश्न सोधिएको छ, कति ठाउँमा जवाफ दिनेले नसोची जवाफ दिएको छ। त्यसैले अनावश्यकरूपमा स्क्यान्डल र कन्ट्रोभर्सी भइरहेको छ। इन्टरभ्यु लिने र दिने दुवैले सोच–विचार गरेर सवाल–जवाफ ग¥यो वा विचार पु¥याएर, संयमिति भएर बोल्यो भने यस्तो समस्या नै आउँदैन।
प्रतिक्रिया