आमाको बिगौती दूधनै नवजात शिशुको पहिलो खोप

0
Shares

न्युज अफ नेपाल, काठमाडौ । 

विश्व स्तनपान सप्ताह नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरि आज देखि देशव्यापी रुपमा मनाईदै छ ।

२८ औं विश्व स्तनपान दिवसको पूर्व सन्ध्यामा परिवारकल्याण महाशाख, पोषण शाखाले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सरकारद्धारा आयोजित साप्ताहिक कार्यक्रमका कारेमा जानकारी गराईयो ।

कार्यक्रममा पोषण शाखाका प्रमुख केदारराज पराजुलीले आमाको दुध बच्चाका लागि अमृत समान हुन्छ र बच्चा जन्मेको १ घण्टा भित्र खुवाईने आमाको विगौति दुध नै बच्चाको लागि रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता भएको पहिलो खोप हो भन्नुभयो । उहाँले बच्चा जन्मनासाथ स्तनपान गराउँनाले बच्चाले दुध चुस्दा पाठेघर खुम्चने हुँदा रक्तश्राव कम हुनुका साथै साल झर्नलाई समेत मदत पुग्ने बताउनुभयो ।

भर्खर जन्मेको बच्चाको पेट सानो गुच्चा जत्रो हुन्छ त्यसमा पहिला आमाको विगौति दुध अमृत खुवाउनु पर्नेमा शहरिया, पढेलेखेका महिलाहरुले नै बट्टा र प्याकेटको धुलो बिषाधि खुवाउँछन् । बच्चालाई आमाको दुधले शारिरीक र मानसिक बिकासमा मदत पुर्याउने हुनाले ६ महिना सम्म कुनैपनि दुध खुवाउनु हुन्न । सिएस गरेका महिलाहरुले शुरुमै दुध आउँदैन भनेर सोच्नु गलत हो मेरो दुध आउँछ भनेर सकारात्मक सोच्यो भने तत्काल शारिरीक तरङ्ग बदलिई दुध आउँछ । प्राय पढेलेखेका महिलाहरुले सिएस गर्ने र बच्चालाई दुध नखुवाउने गरेको तथ्यांक नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयको सन् २०१६ को सर्वेले देखाएको पराजुली बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ बच्चा जन्मने बित्तिकै नवजात शिशुलाई आमाको छातिमा टारेर राख्ने, जन्मेको एक घण्टा भित्र स्तनपान गराउने, शिशुलाई ६ महिना सम्म शिशुले मागे अनुसार स्तनपान गराउने, ६ महिना पुरा भएपछि थप पोषण तत्वका साथ २ बर्ष सम्म स्तनपान गराईराख्नुपर्छ । यीनै बिषयलाई उजागर गर्दै विश्व स्तनपान दिवस हरेक बर्ष अगष्ट १ देखि ७ सम्म सप्ताहव्यापी रुपमा मनाईन्छ ।
यसबर्ष “स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार”भन्ने मूल नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ । स्तनपान संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले सन् १९९२ देखि यो सप्ताह मनाइँदै आइएको हो । सन् २०१६ देखि सप्ताहले दिगो विकासका लक्ष्यहरुसँग समाहित भै कार्यक्रमहरु ल्याउँदै गरेको छलफल कार्यक्रममा जानकारी गराईयो । यस बर्षको स्तनपान सप्ताहको मूल उदेश्यहरुमा सुसुचित गर्ने, संलग्न हुने, वकालत गर्ने लगायतका रहेका छन् ।

६ महनिा सम्म आमाको दुध मात्र खुवाँउँदा शिशु तथा बाल मृत्युदरमा १३ प्रतिशतले कमी ल्याउन सकिने ल्यानसेट सिरिजले पुष्टि गरेको छ ।

नेपालमा स्तनपान गराउने महिलाको संख्या ६६ प्रतिशत र शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत मात्र रहेको सन् २०१६ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणमा उल्लेख गरिएको छ । नेपालमा ५ बर्षमुनीका ३६ प्रतिशत बालबालिकाहरु पुड्कोपना, १० प्रतिशत ख्याउटेपना, २७ प्रतिशत कम तौल, ५३ प्रतिशत रक्तअल्पताबाट ग्रसित छन् । नेपालमा हुने बाल मृत्युदरको ५३ प्रतिशत कारक कुपोषण रहेको पाईएको छ । यी सबै प्रकारको कुपोषण न्यूनीकरणमा स्तनपानको महत्वपूर्ण भूमिका हुने परिवार कल्याण महाशाखाका निर्देशक डा.भीम सिंह तिनकरीले बताउनुभयो ।

स्तनपानलाई संरक्षण र सम्बर्द्धन गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा व्यवस्था गरिसकिएको र हरेक स्थानीय तहहरुमा स्तनपान कक्षको स्थापना गरिएको बताउँदै स्तनपान गराइरहेकी कामकाजी आमाहरुलाई स्तनपान मैत्री वातावरण श्रृजना गरि सहयोग गर्न सबै सरकारी कार्यालयमा व्यवस्था मिलाउँदै जाने पनि जानकारी गराईयो ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागमका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले स्तनपान सप्ताहको व्यानर पढेर उद्घाटन गर्नुभएको थियो । सोही अवसरमा परिवार कल्याण महाशाखाका हरिहर प्रसाद शर्माले स्तनपान दिवसको महत्वमाथी प्रकाश पार्नुभएको थियो ।