प्रधानमन्त्री ओली पुगे भेटघाटका लागि गौतमको घर



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपीशर्मा ओली भैंसेपाटीस्थित उपाध्यक्ष बामदेव गौतमको घरमा पारिवारिक भेटघाटमा पुगेका छन्। पत्नी राधिका शाक्यलाई सँगै लिएर ओली गौतमको घरमा राजनीतिक नभइ पारिवारिक भेटघाटका लागि गएको स्रोतले बताएको छ ।

पार्टी महासचिव विष्णु पौडेल पनि गौतमकै घरमा छन्। गौतम र पौडेल छिमेकी हुन्। नेकपाभित्र विवाद चर्किएका बेला ओली गौतमको घरमा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

उपाध्यक्ष गौतमले पार्टीभित्र सहमतिका लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका छन्। स्रोतका अनुसार बामदेवले राखेको ६ बुँदे प्रस्तावमा ओली सकारात्मक देखिएका छन्।

पार्टी एकता सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपर्दा पार्टी सचिवालयमा परामर्श गर्नुपर्ने गौतमको सुझाव छ। उनले मन्त्रिपरिषद पुनर्गठनका प्रस्ताव पनि राखेका छन्।

साथै उनले प्रधानमन्त्री निवासमा पार्टीका बैठक नगरी अबदेखि पार्टी कार्यालयमा पार्टीका बैठकहरू आयोजना गर्न गौतमले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्