वडा अध्यक्षलाई न्याय दिलाउन माग गर्दै प्रदर्शन



सुनील महर्र्जन, ललितपुर
ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनलाई छिटोभन्दा छिटो न्याय दिलाउन माग गर्दै कर्मचारी संगठनले गरेको प्रदर्शनका कारण सोमबार ललितपुर महानगरपालिका र अन्तर्गतका सबै वडाहरुको काम ठप्पप्रायः रह्यो ।

वडाले प्रक्रिया पु¥याएर कानुनबमोजिम गरिएको नाता प्रमाणितलाई मेडिकल माफियाको गिरोहले कीर्ते गरेर वडाअध्यक्ष महर्जनलाई फसाइएको भन्दै कर्मचारीले महानगरपालिकाको प्राङ्गणमा प्रदर्शन गरेका हुन् ।

स्थानीय तह कर्मचारी नेपाल महानगरपालिका इकाइ, नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय तह महानगरपालिका इकाइको आह्वानमा भएको सो प्रदर्शनमा उनीहरुले मेडिकल माफियालाई कारबाही गर, निर्दोष जनप्रतिनिधि रिहा गर, स्थानीय जनप्रतिनिधि एक होऔं, सम्पूर्ण कर्मचारी एक होऔं र षड्यन्त्रकारीलाई कारबाही गर भन्दै नाराबाजी गरेका थिए । कर्मचारी सम्बद्ध संगठनको प्रदर्शनमा महानगरपालिकाका विभिन्न शाखा, महाशाखाका प्रमुखसहित सामाजिक परिचालक र वडाका वडाध्यक्ष र वडा सदस्यहरुले पनि ऐक्यबद्धता जनाउँदै सहभागी भएका थिए ।

‘वडा अध्यक्ष महर्जन एक निस्वार्थ र इमानदार जनप्रतिनिधि हुन् । वडाले बनाएको नाता प्रमाणितपत्रमा फोटो परिवर्तन गरी मानव अंग बेचबिखनजस्तो जघन्य अपराधमा प्रयोग गरिएको रुपमा हामीले बुझेका छौं । यो

मृर्गौला तस्करी गर्नेहरुको जालझेल हो’, कर्मचारी संघ महानगरपालिका इकाइका अध्यक्ष बाबुराजा महर्जनले भन्नुभयो– ‘यसले निष्पक्ष रुपमा छानविन गरी चाँडोभन्दा चाँडो न्याय दिलाउनुपर्ने हाम्रो माग रहेको छ ।’

वडाले बनाएको नाता प्रमाणित पत्रलाई पनि आधार बनाएर मृर्गौला तस्करी गरिएको र त्यसमा संलग्नताको आरोपमा वडा अध्यक्षलाई असार २६ गते शनिबार नेपाल प्रहरीको मानव तस्कर ब्युरोले नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा वडाध्यक्ष महर्जनलाई लामो समय हिरासतमा रखिएको भन्दै कर्मचारी संगठन ललितपुर इकाइका अध्यक्ष रामकुमार ढकालले यस कार्यले प्राकृतिक न्यायको सिद्धान्त उल्लंघन गरेको धारणा राख्नुभयो ।

लामो समयसम्म जनप्रतिनिधिलाई हिरासतमा राख्नु भनेको स्थानीय तहबाट प्रवाह हुने सेवा प्रवाह र विकास निर्माणको कार्य नै अवरुद्ध भएको पनि कर्मचारीले निष्कर्ष निकालेका छन् । कर्मचारी संगठनहरुले महर्जनको अनुसन्धान कार्यमा र न्यायिक प्रक्रिया अपेक्षाकृत ढिलाइ भएको भन्दै दिनभर कलम बन्द गरेका थिए । कर्मचारीले कलम बन्द गरेपछि महानगरपालिकाको सम्पूर्ण कामकारबाही प्रभावित रह्यो ।

महर्जनलाई षड्यन्त्रकारीले आफ्नो चंगुलमा फसाएको आम जनमानसको बुझाइ रहेको छ । स्थानीय तह सरकार सञ्चालन गर्ने ऐन २०७४ बमोजिम नाता प्रमाणित गर्नुपर्ने सिफारिस वडालाई प्रत्यायोजन गरिएको छ । आफ्नो कर्तव्य पालनामा भएका कामलाई फौजदारी मुद्दाअन्तर्गत हिरासतमा राखिएको भन्दै जनताको आक्रोश दिनप्रतिदिन बढिरहेको छ ।

महर्जनलाई लगाइएको आरोपको निष्पक्ष र छिटोभन्दा छिटो छानविन गर्न माग राख्दै विभिन्न तहतप्काले प्रेस विज्ञप्ति प्रकाशित गर्ने र लगातार प्रदर्शन गर्दै आउनुलाई राजनीतिक आग्रह पूर्वाग्रहबाट अलग रहेर हेर्ने हो भने यही भावनाको रुपमा लिन सकिने ललितपुर महानगरपालिका–२१ का वडाअध्यक्ष रवीन्द्र महर्जनको भनाइ रहेको छ ।

यसअघि पुल्चोकमा सञ्चालित पुच्वः बचत तथा ऋण सहकारी संस्था र पुच्व माइला सनाः गुठीले मृर्गौला प्रकरणमा वडाध्यक्षलाई फसाइएको दाबी गर्दै निष्पक्ष छानविनको माग गर्दै आवाज उठाउँदै आएका छन् । वडाअध्यक्ष महर्जनलाई जबरजस्ती फसाइएको भन्दै बिनासर्त रिहाइको समेत टोलवासीले माग गरेका छन् ।

गुठीका अध्यक्ष बलबहादुर महर्जनले जारी गर्नुभएको विज्ञप्तिमा वडाअध्यक्ष महर्जनले गलत व्यक्तिहरुले षड्यन्त्रपूर्वक जालझेल गरेर गैरकानुनी रुपमा फसाउन खोजेको भनिएको छ । निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाही गर्न पनि विज्ञप्तिमा भनिएको छ । महर्जनको पक्राउमा षड्यन्त्रकारीहरुको हात भएको जनाउँदै विभिन्न संघसंस्थाले सूक्ष्म अनुसन्धान आवश्यक रहेको सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइसकेका छन् ।

त्यसै गरी पुल्चोक टोल सुधार समितिका कार्यवाहक अध्यक्ष सुरेन्द्रकुमार शाक्य र पुल्चोक स्पोर्टस क्लबका अध्यक्ष रवीन्द्र जोशीले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गरेर इमानदार र पारदर्शीपूर्ण तवरले समाजमा सदा समर्पित व्यक्तित्वलाई फसाइएको घटनाबारे स्तब्ध भएको जनाएको छ । इमानदार र निष्पक्ष जनप्रतिनिधिलाई जनताको सेवामा समर्पित हुनबाट वञ्चित गराई राज्यले अनुसन्धान अघि बढाएकोमा आपत्ति जनाएको छ ।

यसै गरी ज्यापू समाज ललितपुरले वडाअध्यक्ष महर्जनलाई अविलम्ब प्रहरी हिरासतबाट मुक्त गर्न माग गरेको छ । समाजका अध्यक्ष चन्द्र महर्जनले हस्ताक्षर गरी प्रकाशित विज्ञप्तिमा आफ्नो कर्तव्य पालनाका क्रममा भएका कामलाई लिएर गिरफ्तारी गरिनु स्थानीय सरकार सञ्चालन ऐन २०७४ को प्रतिकूल रहेको भनिएको छ । महानगरपालिकाको कार्यपालिकाको तर्फबाट यसअघि विज्ञप्ति प्रकाशित गरिसकेको छ ।

महर्जनले हालसम्म प्रहरी, सरकारी वकिललाई आफ्नो बयान दिइसक्नुभएको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पनि वडाअध्यक्ष महर्जनले खराब नियतले काम गरेको कतै पनि देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्