कोरोना जितेर फर्कने दिनानुदिन बढ्दै

0
Shares

न्युज अफ नेपाल,प्युठान ।

हाल सम्म ३०४ जनामा सङ्क्रमण देखिएको प्युठानमा पछिल्लो समय कोरोना जितेर घर फिर्ता हुनेको सङ्ख्या बढ्न थालेको छ । स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्शन पुस्कल श्रेष्ठका अनुसार बुधवार साँझसम्म ३५ जना कोरोना जितेर घर फिर्ता भएका छन । आज बुधबार माण्डवि गाउँपालिकाका ७ जनालाई आईसोलेशनबाट डिस्चार्ज गरिएको छ ।

जिल्लामा पछिल्लो समय एकान्तवास केन्द्र र क्वारेन्टाइनमा बस्नेको सङ्ख्या समेत घटिरहेको छ। एकसाथ धेरैजना निको भएर घर फिर्ता हुन थालेपछि आमनागरिकमा उत्साह छाएको छ । भारतबाट भित्रिनेको सङ्ख्या न्यून हुन थालेपछि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घटेको हो ।

प्युठानका नौ वटा स्थानीय तहमा २ सय ७० वटा क्वारेन्टाइन र २३ वटा आईसोलेशन रहेका छन् । यहाका सबै क्वारेन्टाइनमा जम्मा ८८७ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लकडाउनको अबधीभर भारत सहितका विभिन्न स्थानबाट प्युठान भित्रीएकाको कुल संख्या ११ हजार ७ सय ५९ जना रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र्कुमार कार्कीले जानकारी दिए । क्वारेन्टाइनमा बस्नेहरूको पीसीआर र आरडीटी जाँच गरेर नेगेटिभ रिपोर्ट आउनेलाई घरमा एक साता क्वारेन्टाइनमा बस्नेगरी पठाउने गरिएको छ ।