स्याङ्जामा ३५ प्रतिशत रोपाइँ सम्पन्न

0
Shares

अमृत अर्याल,स्याङ्जा ।

स्याङ्जामा ३५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र जनाएको छ । गत वर्ष मध्य असारमा करिब २५ प्रतिशत मात्रै रोपाइँ सकिएको थियो ।  जिल्लाको धान रोप्ने भू–भागमध्ये ३५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको हो ।

समयमै मनसुन सुरु हुनुका साथै कुलो, नहर मर्मत सकिएसँगै गत वर्षका तुलनामा यस वर्ष रोपाइँको प्रतिशत बढेको ज्ञान केन्द्रले जनाएको छ । जिल्लाका आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोटको सुन्तलीटार, रत्नपुर, कुवाकोट, गल्याङ क्षेत्र, सेतीदोभान फाँटहरु, पकान फाँट र बिरुवा फाँटहरु जिल्लाका प्रमुख रुपमा धान उत्पादक क्षेत्र हुन् ।

जिल्लामा जेठको अन्तिम सातादेखि साउनको पहिलो सातासम्म धान रोप्ने गरिन्छ । स्याङ्जाको कुल क्षेत्रफल मध्ये १६ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिने कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम अधिकारीले जानकारी दिनुभयो ।

गत वर्षभन्दा यस वर्ष ५ प्रतिशत बाँझो जमिनमा खेती बढेको छ प्रमुख अधिकारीले भन्नुभयो, “जिल्लालाई धानमा आत्मनिर्भर बनाउन १२ हजार मेट्रिक टन धान उत्पादन बढाउन आवश्यक छ ।” गतवर्ष स्याङ्जामा ६५ हजार मेट्रिक टन धान उत्पादन भएको केन्द्रको तथ्याङ्मा उल्लेख छ ।

स्याङ्जामा साबित्री, राधा ४, सुनौलो सुगन्धा, खुमल ११, मकवानपुर १, स्थानीय मन्सुली, राधा ७, राधा ११, राधा १२ लगायतका उन्नत जातका धान रोप्ने गरिन्छ ।  यसैगरी, बर्मेली, जर्नेली, अनदी, गुर्दी, पहेंले, खुमल, गोला लगायतका स्थानीय जातका धान पनि रोपिन्छन् । धान बाली जिल्लाको मुख्य खाद्यान्न बाली हो ।