अन्तराष्ट्रिय उडान खुला गर्न यूएईबाट ४४ संस्थाको प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

0
Shares

भूपराज बस्याल,काठमाडौँ ।

कोरोना भाईरस माहामारीका कारण विदेशमा अलपत्र रहेका नेपालीहरूका लागि चार्टड उडानहरू पर्याप्त नभएको भन्दै अन्तराष्ट्रिय उडानहरू खुल्ला गर्न नेपाल सरकारलाई अनुरोध गर्दै नेपाली समाज यूएईले नेपाली दूतावास आवुधावी मार्फत प्रधानमन्त्री कार्यालय ,वालुवाटारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपाली समाज यूएईसँग आबद्व ४४ वटा संघसंस्थाका प्रमुखहरूको हस्ताक्षर सहितको पत्र सोमवार दूतावास मार्फत नेपाल सरकार प्रधानमन्त्री कार्यालय सिंहदरबार समक्ष बुझाईएको नेपाली समाज यूएईका अध्यक्ष गोविन्द ढकालले जानकारी दिनुभयो ।

‘विदेशमा धेरै नेपाली अलपत्र छन् चार्टड उडानहरू पर्याप्त छैन्न् अब छिटै व्यवसायीक उडानहरू नै संचालन गर्न दिएर स्वदेश फर्कने वातावरण बनाउन जरूरी छ’अध्यक्ष ढकालको भनाई छ । हाल यूएईमा २ लाख ७५ हजारको हाराहारीमा नेपालीहरू रहेको भनिएपनि पर्यटन लगायतको भिसामा आएका करिव ४ लाख जति नेपाली यूएईमा रहेको पनि समाजले जनाएको छ ।

हालसम्म युएईबाट चार्टड उडान मार्फत १८ सय ८९ जना नेपाली नेपाल फर्किएको नेपाली दूतावास आवुधावीले उल्लेख गरेको छ ।