घरमै बसेर एसईई नतिजाको तयारीमा शिक्षक

42
Shares

रोशन पराजुली,हेटौंडा ।

कोरोना महामारीका कारण रद्ध २०७६ को एसईई परीक्षाको नतिजा साउन १५ सम्म सार्वजनिक गर्ने सरकारी तयारी छ । त्यसका लागि मकवानपुरका विद्यालयले विद्यार्थीको अघिल्ला परीक्षालाई आधार मानेर सरकारी कार्यविधिअनुसार मूल्यांकन गर्ने तयारी गरिरहेका हुन् ।
तर, क्वारेन्टाइन बनाइएका र लकडाउनका कारण शिक्षक घर गएका विद्यालयमा भने नतिजाको तयारीमा समस्या देखिएको छ । मकवानपुरका विभिन्न स्थानका विद्यालय यतिबेला व्यस्त छन् । महामारीका कारण यहाँका सामुदायिक विद्यालयहरु क्वारेन्टाइनका रुपमा प्रयोग भइरहेको छ, जसका कारण ती विद्यालयलाई प्राप्तांक तयार गर्न अप्ठ्यारो भएको छ ।

क्वारेन्टाइन बनाइएका विभिन्न स्थानीय तहका विद्यालयमध्ये पूर्वी बकैया गाउँपालिका–४ मा रहेको महेन्द्र माध्यमिक विद्यालय पनि एक हो । हाल विद्यालय भवन कोरोनाको काममा व्यस्त छ । क्वारेन्टाइनले गर्दा त्यहाँका शिक्षकहरु एसईई परीक्षाका लागि प्राप्तांक तयार गर्न शिक्षकको घरघर धाउनुपर्ने अबस्था छ ।

विद्यालयका प्रधानाध्यापक दुर्गा पराजुलीका अनुसार मूल्याङन समितिका पाँच जना बसेर विद्यार्थीको प्राप्तांक निकाल्ने काम गरिएको छ । ‘तर, निकै अप्ठ्यारो छ । हामी शिक्षक हरिप्रसाद दाहालको घरमा बसेर काम गरिरहेका छौं । कहिले कुन फाइल छुट्छ, कहिले के छुट्छ । यस्ता समस्या भोगिरहनु परेको छ,’ उहाँले भन्नुभयो–विद्यालयमा सबै फाइल र डकुमेन्ट हुने भएकोले सहजसँग काम गर्न पाइन्थ्यो ।

घरघर धाउनुपर्ने अबस्थाले प्राप्तांक निकाल्न ढिलाइ भएको प्रअ पराजुलीले गुनासो गर्नुभयो । प्रधानाध्यापकको अध्यक्षतामा कक्षाशिक्षक र ज्येष्ठ शिक्षकसहित समिति बनाएर विद्यार्थीको मूल्यांकन गर्न भनिएकोले त्यसै गरिएको छ । हेटौंडा–४ मा रहेको श्रमिक माध्यमिक विद्यालयका शिक्षकलाई पनि उस्तै समस्या छ । नयाँ भवनमा आइसोलेसन बनाउन दिइए पनि आफूहरु विद्यालयको पुरानो भवननजिक बसेर काम गर्नुपर्ने भएका कारण डराइडराइ काम गर्नुपर्ने अबस्था रहेको शिक्षकहरुले बताएका छन् ।

कतिपय अबस्थामा घरमा नै काम गर्ने गरिएको विद्यालयका कर्मचारी बिमल श्रेष्ठले जानकारी गराउनुभयो । श्रेष्ठका अनुसार कहिले कुन फाइल ल्याउनुपर्ने त कहिले कुनले गर्दा विद्यालयदेखि घरसम्म धाइरहनुपर्ने बाध्यता छ । त्रासको अबस्थामा कहिले पानीको त कहिले बिजुलीको महसुल बिल लिन विद्यालयमा गइरहनुपर्ने उहाँले बताउनुभयो ।

क्वारेन्टाइनका रुपमा प्रयोग गरिएका अधिकांश विद्यालयका यस्तै समस्या छन् ।हेटौंडा उपमहानगरका सात सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाइएको छ । अन्य स्थानीय तहमा पनि सामुदायिक विद्यालयलाई नै प्रयोग गरिएको छ ।

श्रमिक माविसहित हेटौंडा–८ को रोटरी प्रावि, हेटौंडा–९ को दिव्यज्योति, हेटौंडा–१३ को महेन्द्र मावि, वडा–१५ को चुरियामाई मावि, वडा–१६ को निजानन्द मावि र हेटौंडा–११ को हेटौंडा एकेडेमीमा क्वारेन्टाइन बनाइएका छन् ।

साउन १५ सम्म नतिजा सार्वजनिक गर्न विद्यालयले पठाउने विवरण शिक्षा विकास तथा समन्वय एकाईंले प्रमाणीकरण गरेर असार ३० सम्म पठाइसक्न भनिएको छ ।रद्ध गरिएको एसईई परीक्षाबारे सरकारले जेठ अन्तिम साता विद्यार्थीलाई विद्यालयको मूल्यांकनको आधारमा प्रमाणपत्र दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद् निर्णयपछि राष्ट्रिय परीक्षा बोर्डले यसअघिका परीक्षाको आधारमा मूल्यांकन गरी प्राप्तांक पठाउन विद्यालयलाई समय दिएको छ ।

चैत ६ गतेबाट चैत १७ गतेसम्म सञ्चालन हुने तय भएको एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको थियो । परीक्षामा देशभर चार लाख ८२ हजार सात सय सात परीक्षार्थी सहभागी हुँदैथिए भने मकवानपुरबाट ६ हजार दुई सय १८ परीक्षार्थी थिए । उनीहरु परीक्षा केन्द्र तोकिएको क्षेत्रमा पुगिसकेका थिए ।