खोटाङमा कोरोना संक्रमित थपिए

0
Shares

रामधन राई,खोटाङ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एक जना कोरोना संक्रमित थपिएका छन् । गत आइतबार मात्र दुई पुरुष र एक महिलालाई कोरोना संक्रमण भएको पुष्टी भएको नगरपालिकामा सोमबार एक २५ वर्षीया महिलालाई कोरोना संक्रमण भएको पुष्टी भएको हो ।

हप्ता दिनअघि भारतबाट आएर होम क्वारेण्टिनमा बसेकी दिक्तेलबजार रत्नपार्ककी महिलालाई कोरोना संक्रमण पूष्टी भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डाक्टर शैलेस श्रेष्ठले बताउनुभयो । यससँगै जिल्लामा संक्रमितको संख्या पाँच पुगेको छ । संक्रमितमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४ र ऐसेलखर्क गाउँपालिकाका एक जना रहेका छन् ।

रावाबेँसी गाउँपालिका स्थायी ठेगाना भए पनि दिक्तेलको रत्नपार्कमा बस्दैआएकी महिलालाई संक्रमण भएको पूष्टी भएपछि दिक्तेलबजार क्षेत्रमा त्रास फैलिएको छ । घर सिल गरेर संक्रमित महिलालाई तत्काल जिल्ला अस्पतालमा बनाइएको आइसोलेसनमा लगेर राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपमेयर बिणादेबी राईले बताउनुभयो । उनलाई मंगलवार दिउँसो १ वजे उपचारमा पठाउने तयारी गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका १८ वर्ष र ३८ वर्षका पुरुष तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाकी २५ वर्षीय महिलालाई सोमबार मात्र विराटनगस्थित कोभिड–१९ अस्पतालमा भर्ना गरिएको छ ।

यस्तै, कोरोना संक्रमण भएकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी ३० वर्षीय महिलालाई पनि उपचारमा पठाउने तयारी भइरहेको छ । संक्रमण भएको पूष्टी भएपछि उनलाई छुट्टै राखेर परिवारका सदस्यको पिसिआर परीक्षणको तयारी भइरहेको ऐसेलुखर्क गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले बताउनुभयो । यसअघि, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।