तानसेनलाई पर्यटकीय रुपमा विकास गर्न दुईवटा पूर्वाधार विकास गरिँदै

0
Shares

कविराज नेपाल,पाल्पा ।

पाल्पा जिल्ला सदरमुकाम तानसेनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि दुइवटा पर्यटकीय पुर्वाधारहरुको सिलन्यास गरिएको छ । तानसेन नगरपालिकाको वडा नं ६ र वडा नं ३ श्रीनगर डाँडामा मा उद्यान र तानसेन लेखिएको इलेक्ट्रोनिक होर्डिङ्ग बोर्ड वन्ने भएका हुन् ।

तानसेन नगरपालिका-६, सतनचुलीमा नेपाल अंग्रेजबीच नुवाकोट जीतगढीमा भएको युद्धमा नेपाललाई विजय दिलाउने युद्धनायक कर्णेल उजिरसिंह थापाका नाममा उद्यान निर्माण हुन लागेको हो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पाल्पा २ का सांसद सोमप्रसाद पाण्डेले रु. ५० लाख बजेट विनियोजनबाट पूर्वाधारका काम भइरहेको छ ।

आर्थिक वर्ष २०७६/०७७ बजेटबाट सो काम भइरहेको छ । असार मसान्तसम्म उद्यान निर्माण पूरा हुने तानसेन नगरपालिकालका इञ्जिनीयर रामप्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ । नेपालको भूगोल जोगाउने, राष्ट्रियताको रक्षा गर्ने र स्वाधीन नेपालका निम्ति आधुनिक हतियारले सुसज्जित अंग्रेजलाई परास्त गर्ने नेपाली सेनाका कर्णेल थापाको योगदानको कदर गरेर उद्यान निर्माणमा प्राथमिकता दिइएको सांसद पाण्डेले वताउनुभयो ।

कार्यक्रममा तत्कालीन संविधानसभा सदस्य नारायणी शर्मा र जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख मीरा मरासिनी,प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, नेकपाका नेता धनेन्द्रराज घिमिरे, नेपाली काँग्रेसका विधान श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर कुँवर,राष्ट्रिय जनमोर्चाका विशाल दर्लामीले बर्तुङमा उद्यान निर्माण हुनु सुखद् पक्ष भएको बताउनु भयो ।

जिल्लाको सदरमुकाम तानसेनस्थित श्रीरनगरडाँडामा निर्माण हुन लागेको ‘तानसेन इलेक्ट्रोनिक बोर्ड’ अक्षर जडानको को सांसद तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले सुरुवात गर्नुभएको छ । उहाले यसबाट तानसेनलाई चिनाउन सजिलो हुने वताउनु भयो ।

वोर्ड राखेपछि सिद्धार्थ राजमार्गमा यात्रा गरिरहेका पर्यटकले तानसेन चिन्न र आउन सजिलो हुने वताइएको छ । तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले यसको निर्माणबाट तानसेनको विकासको मुख्य बाटो नै पर्यटन भएकाले योे बोर्डले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।

ठूला अक्षरमा तानसेन लेखिएका बोर्डको लम्बाई ४२ मिटर र ८ मिटर उचाई र चौडाइृ ८/८ मिटर हुने सोलारबाट हेलोजिन लाइट बालेर दिउसो र राती पनि टाढैबाट तानसेन देख्ने सिस्टम हुने वताइएको छ ।