खानेपानीका पूर्व अध्यक्षद्वारा ५ बर्षसम्म संस्थाको रकम हस्तान्तरण गर्न अटेर

नैतिक दबाब दिन भन्दै धारा काटियो

0
Shares

न्युज अफ नेपाल,भक्तपुर ।

सिपाडोल बृहत् खानेपानी तथा सरसफाई उपभोत्ता समिति अन्तर्गत उपसमिति १ का पुर्व अध्यक्ष केदार त्वानाबासुले उपसमितिको रकम संस्थालाई हस्तान्तरण नगरी अटेर गरेको भन्दै उपसमितिले उनको धारा काटेको छ । बिगत ५ बर्ष देखि नयाँ कार्य समिति आए देखि नै उनी लगायत तत्कालिन सचिब र कोषाध्यक्षको नाममा राष्ट्रिय बाणिज्य बैंकमा संयुक्त खाता समितिको रु ५ लाख भन्दा बढी रकम राखेकोमा उनले उक्त रकम नयाँ कार्य समितिलाई हस्तान्तरण गर्न अटेर गरेर संस्थालाई आर्थिक घाटा पारेको समितिले जनाएको छ ।

उपसमितिका अध्यक्ष तुलसीनारायण लाखेमरुका अनुसार पुर्व अध्यक्ष केदार त्वानाबासुलाई रकम खाँचो पर्यो भनी समितिको पैसा हस्तान्तरण गर्न पटक पटक मौखिक रुपमा आग्रह गर्दा र पत्रचार समेत गर्दा उनले बेवास्ता गर्दै आएका छन् ।

उक्त रकम झिक्न असहयोग र बेवास्ता गर्दा संस्थालाई आउने ब्याजमा समेत थप घाटा पर्न गएकोले उनलाई पैसा हस्तान्तरणका लागि दबाब सृजना गर्न उपसमिति अन्तर्गत उनले जडान गरेको धारा काट्ने निर्णय समितिको बैठकले गत बिहीबार गरेको अध्यक्ष लाखेमरुले बताउनुभयो ।

सोही निर्णयको आधारमा शुक्रबार समितिका पदाधिकारी र उपभोक्ता समितिका सदस्य सहितको उपस्थितिमा सुर्यबिनायक नगरपालिका वडा नम्बर ८ अन्तर्गत महानगरी प्रहरी बृत्त जगाती छेउमा रहेको उनले घरमा प्रयोग गर्दै आएको धारा काटिएको समितिले जनाएको छ ।

उनले फोनमा कुरा गर्दा र भेटघाटका क्रममा पटक पटक रकम हस्तान्तण गर्छु भन्दै आए पनि लामो समयदेखि अटेर गर्दै आएको समितको भनाई छ । अझ अर्को खाता खोल्ने हो भने पनि आफ्नो समेत नाममा बैंक खाता राख्नुपर्ने नियम बिपरीतको कुरा गरेकाले सुनपा ८ का वडाध्यक्ष किरण थापाको समेत सहभागितामा बैठक बसी धारा काट्ने निर्णय गरिएको समितिका सहसचिब शिबनारायण ग्वाछाले बताउनुभयो ।

वडाध्यक्ष किरण थापाले उपसमितिलाई आर्थिक घाटा पार्ने र नयाँ समितिलाई स्वत रकम हस्तान्तरण गर्नु पर्नेमा रकम हस्तान्तरणमा आलटाल गरेकोले पैसा हस्तान्तरण गर्न नैतिक र भौतिक दबाब पुगोस् भनी उनको धारा काट्ने निर्णय गरिएको बताउनुभयो ।

पहिला त्वानाबासु अध्यक्ष हुँदा अध्यक्ष वा सचिबमध्य एक जना र कोषाध्यक्षले हस्ताक्षर गरी रकम निकाल्ने मिल्ने गरी खाता खोलिएको भए पनि उनले निबर्तमान अध्यक्ष भए पछि उनको हस्ताक्षर बिना पैसा निकाल्न समेत नमिल्ने गरी संस्थालाई आवश्यक रकम चलाउन अबरोध खडा गरेको उपसमितिको आरोप छ ।

नौ,दश बर्ष अघि ५० ,६० जना ग्राहकबाट प्रति ग्राहक रु २५ हजार संकलन गरी सुरु भएको उपसमितिमा हाल २ सय ४ जना ग्राहक छन् ।एक ब्यक्तिका कारण उपसमिति र यस अन्तर्गतका सम्पुर्ण ग्राहकलाई असर परेको भन्दै उपभोक्ता समितिका अधिकांश सदस्य आक्रोशित भएका छन् ।

यता पुर्व अध्यक्ष त्वानाबासुले भने यति लामो समयसम्म किन नयाँ कार्य समितिलाई बैंक खाता हस्तान्तरण नगरेको भनि सोध्दा अहिलेको नयाँ कार्य समिति गठन हुँदा नै आर्थिक कारोबार यथावत राख्ने सल्लाह बमोजिक आफुले खाता परिवर्तन नगरेको बताउनुभयो ।

आफूलाई थाहै नदिई धारा काटिएको बताउँदै धारा काट्ने बित्तिक्कै उपसमितिको कार्यालयमा छलफल गर्न जाँदा शनिबार छलफल गर्न उपसमितिले भने पनि शनिबार पनि उपसमितिका पदाधिकारी र सदस्य छलफलका लागि नआएको बताए ।

उपसमितिको पैसा कहाँ कसरी खर्च भैरहेको छ बृहत् भेला बोलाएर पारदर्शी रुपमा हिसाब किताब देखाए खाता हस्तान्तरण गर्न तैयार रहेको उनको भनाई थियो ।समितिका केही सदस्यका सुझाबलाई समेत अटेर गरी उपसमितिले एकलौटी निर्णय गरेको त्वानाबासुको भनाई छ ।