तिलोत्तमामा कोरोना जितेर दुई जना घर फर्किए

0
Shares

न्युज अफ नेपाल,बुटवल ।

तिलोत्तमा नगरपालिकाको शंकरनगर स्थित आइसोलेशन सेन्टरमा रहेका मध्ये दुई जना शनिबार कोरोनालाई जितेर घर गएका छन् । कोरोना संक्रमण पुष्टि भएको १४ दिनपछि गरिएको पुनः परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको हो ।

यसअघि उनीहरुको १४ दिने क्वारेन्टाइन अवधि पूरा भएपछि गरिएको आरटिडी परीक्षणको नतिजा पोजेटिभ आएपछि पिसिआर परीक्षण गरिएको थियो । पिसिआर पोजेटिभ आएपछि आइसोलेशनमा रहेका उनीहरुको १४ दिनपछि पुनः पिसिआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइएको सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले जानकारी दिनुभयो ।

उनीहरुलाई नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी, वडाध्यक्षहरुले बधाई सहित बिदाई गरेका छन् ।हाल आइसोलेशन सेन्टरमा १९ जना रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । कोरोना जितेर घर फर्किएकाहरु भारतका विभिन्न स्थानबाट आएका हुन् ।

यसैबीच तिलोत्तमा नगरपालिकाले कोरोना महामारीको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै नगरभित्रका पसल व्यवसाय साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ । तिलोत्तमा उद्योग वाणिज्य संघ, संगठन, तिलोत्तमा च्याबर अफ कमर्शका प्रतिनिधि समेत सम्मिलित नगरपालिका संकट व्यवस्थापन केन्द्रको शनिबार सम्पन्न बैठकले जनजीवनलाई सामान्य बनाउन नेपाल सरकारले पछिल्लो पटक बन्दाबन्दीको सम्बन्धमा गरेको निर्देशन बमोजिम नगर क्षेत्रमा संघीय सरकारले तोकेबमोजिमका सेवा व्यवसाय साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

तोकिएबमोजिमका सेवा, व्यवसाय सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने र मास्क, पञ्जा, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गर्न पनि नगरपालिकाले आग्रह गरेको छ । संकट व्यवस्थापन केन्द्रका संयोजक नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा भएको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका नगर अध्यक्ष मोहन चापागाईं, नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे, स्थानीय सुरक्षा निकायका प्रमुखहरुले कोरोना महामारी रोकथामका लागि थप चाल्नुपर्ने कदमको बारेमा आआफ्नो भनाइ राख्नु भएको थियो ।

बैठकमा बन्दाबन्दी सुरु भएदेखि हालसम्म कोभिड–१९ संक्रमणको रोकथाम एवं नियन्त्रणमा नगरपालिकाले गरेका कामका बारेमा समीक्षा भएको र आगामी योजनाका बारेमा छलफल भएको नगर प्रमुख घिमिरेले जानकारी दिनुभयो ।