नवलपरासी पश्चिममा एकै दिन १२ जना कोरोना संक्रमित

0
Shares

  • घनश्याम बगाल,नवलपरासी

पश्चिम नवलपरासीमा मंगलबार एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पश्चिम नवलपरासीको सुस्ता गाउंपालिकामा १२ जना पुरुषमा कोभिड १९ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।सुस्ता गाउंपालिका आफैले भिटिएम खरिद गरी संकलन गरेको स्वाव राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु १२ जना नै पुरुष रहेको र उनीहरुलाई गाउंकै बेलवानी स्वास्थ्य केन्द्रको आइसोलेशनमा राखिएको गाउंपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनु भयो । भारतबाट आएर क्वारेन्टाईनमा बसेका ७८ जनाको स्वाव यही जेठ २० गते संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

पालिकाले पठाएको स्वाव परीक्षण गर्दा १२ जनामा कोभिड १९ पोजेटिभ देखिएको हो भने ६३ जनाको नेगेटिभ र ३ जनाको नतिजा आउन बांकी रहेको छ । भारतसंग सिमा जोडिएको सुस्ता गाउं पालिकामा हाल सम्म १६ जनामा कोरोना पुष्टि भएको छ भने २ जना यस अघि नै उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

अध्यक्ष पाण्डेका अनुसार सुस्ता गाउंपालिकाको विभिन्न वडामा रहेका क्वारेन्टाईनमा हाल १ सय ५ जना मानिस रहेकाछन् । पश्चिम नवलपरासीका बर्दघाट, रामग्राम, नगरपालिका तथा पाल्हि नन्दन, प्रतापपुर र सुस्ता सहितका स्थानीय तहमा ३३ जनालाई कोरोना संक्रमण देखिएको छ ।