मलामी सबै आइसोलेसन भर्ना


बैतडी, (नेस)
बैतडीमा क्वारेन्टाइनमा मृत्यु भएका युवकको अन्तिम दाहसंस्कारका लागि मलामी जानेहरूलार्ई आइसोलेसनमा राखिएको छ ।
पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा मृत्यु भएका स्थानीय ३० वर्षीय युवकको दाहसंस्कार गर्न मलामी जाने ६ जनालाई आइसोलेसनमा राखिएको हो ।
क्वारेन्टाइनमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट नआउँदै दाहसंस्कार गरिएकाले मलामी जाने ६ जनालाई आइसोलेसनमा राखिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो । उनीहरूलाई पाटनस्थित शैक्षिक तालिम केन्द्रमा बनाइएको आइसोलेसनमा राखिएको छ । आइसोलेसनमा राखिएको सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
शनिबार भारतबाट फर्किएका ती युवक एक्कासि बेहोस भएका र शनिबार राति नै मृत्यु भएको थियो । युवकको आइतबार क्वारेन्टाइनमा सँगै बसेका आफन्तले दाहसंस्कार गरेका थिए । मृतकको रिपोर्ट नआउँदासम्म उनीहरूलाई आइसोलेसनमा राखिने उहाँले बताउनुभयो । रिपोर्ट नेगेटिभ आएपछि आइसोलेसनमा रहेकालाई १४ दिन क्वारेन्टाइनमा राखी घर पठाइने र पोजेटिभ आए स्वाब संकलन गरी पीसीआर गरिने स्वास्थ्य शाखा प्रमुख महराको भनाइ छ । यद्यपि मलामी जाने ६ जनाकै आरडीटी रिपोर्ट नेगेटिभ आइसकेको छ ।
मृतकको थ्रोट स्वाब संकलन गरी धनगढी प्रगोगशाला पठाइएको भए पनि रिपोर्ट आएको छैन । यही २३ गते भारतको बेंग्लोरबाट आएका उनी कैलालीको गौरीफन्टा नाका हुँदै गाउँ पाटन पुगेका हुन् । शनिबार बिहान ११ बजेतरि मात्र क्वारेन्टाइनमा बसेका उनी बेलुका ६ बजे एक्कासि बसेकै स्थानमा बेहोस भएका थिए । उपचारका लागि नजिकै रहेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिए पनि ती युवकको राति साढे ८ बजे मृत्यु भएको थियोे । परिवारका सदस्यले दाहसंस्कारका लागि कर गरेपछि दाहसंस्कारका लागि शव दिइएको थियो ।
यता बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने आवश्यक कानुनी प्रक्रिया र सुरक्षा सतर्कता अपनाएर मृतकको दाहसंस्कार गरिएको बताउनुभयो ।