विनोदसिंह विष्ट, बैतडी
भारतबाट फर्किएर बैतडीमा क्वारेन्टाइनमा मृत्यु भएका युवकको परीक्षणबिनै आइतबार दाहसंस्कार गरिएको छ । शनिबार राति मृत्यु भएका पाटन नगरपालिका–६ का ३० वर्षीय युवकको कोरोना परीक्षण नगरेरै दाहसंस्कार गरिएको हो ।
ती युवकको दाहसंस्कार क्वारेन्टाइनमा सँगै बसेका उसका आफन्तले नै गरेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो ।
२३ गते भारतको बेंग्लोरबाट आएका उनी कैलालीको गौरीफन्टा नाका हुँदै गाउँ पुगेका थिए । शनिबार बिहान ११ बजेतरि मात्र क्वारेन्टाइनमा बसेका उनी बेलुका ६ बजे एक्कासि बसेकै स्थानमा बेहोस भएका थिए । उपचारका लागि नजिकै रहेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिए पनि ती युवकको राति साढे ८ बजेतिर मृत्यु भएको हो ।
मृतकसँगै भारतबाट सँगै भाइ र अन्य आफन्त गरी १४ जना शनिबार बिहान सँगै पुगेर ६ नम्बरकै भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका थिए । सँगै क्वारेन्टाइनमा बसेकामध्ये ६ जना आइसोलेसनमा बस्ने सर्तमा दाहसंस्कार गरेका स्वास्थ्य शाखा प्रमुख महराले बताउनुभयो । उहाँले भन्नुभयो– ‘दाहसंस्कार तथा मलामी जाने ६ जनामध्ये एक भाइ मात्रै सामाजिक दूरी कायम गरी घरमा किरिया गर्ने अरू ५ जनालाई आइसोलेसनमा राख्छौं ।’
मृतकका आफन्तका अनुसार उनी केही बिरामी भएको थाहा नभए पनि तौल भने अस्वाभाविकरूपमा बढी थियो । ३० वर्षीय उनको तौल १ सय १० किलोग्राम थियो । ‘ग्रिन जोन’बाट आएको भन्दै मृतकका परिवारले नमानेका कारण मृतकको शव दाहसंस्कारको लागि परिवारको जिम्मा लगाएको स्वास्थ्य शाखा प्रमुख महराले बताउनुभयो ।
दाहसंस्कारमा सहभागी तथा मलामी जाने सबै ६ जनाको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको छ । मृतकको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धनगढी पठाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।
कोरोना संक्रमण पुष्टि भएका कसैको मृत्यु भएमा नेपाली सेनाले शव व्यवस्थापन गर्नुपर्ने हुन्छ तर यहाँ परीक्षण नहुँदै दाहसंस्कार गरिएको छ । यता बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने आवश्यक कानुनी प्रक्रिया र सुरक्षा सतर्कता अपनाएर मृतकको दाहसंस्कार गरिएको बताउनुभयो ।











प्रतिक्रिया