स्याङ्जा कोरोनाको उच्च जोखिममा, दुई सातामा ३७ जनामा कोरोना संक्रमण


अमृत अर्याल, स्याङ्जा

स्याङ्जामा दुई सातामा कोरोना संक्रमणको संख्या ह्वात्तै बढेको छ । आइतबार १४ जना कोरोना संक्रमित थपिएसँगै स्याङ्जामा कोरोना संक्रमणको संख्या ३७ पुगेको छ ।

११ स्थानीय पालिका रहेको स्याङ्जामा चार नगरपालिकासहित तीन गाउँपालिकामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिने सबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

कोरोना संक्रमणमध्ये वालिङमा १३ र भीरकोट नगरपालिकामा १ पुरुष रहेका छन् । कोरोना संक्रमणको शुरुआत गरेको वालिङ नगरपालिका जिल्लाका ११ पालिकामध्ये धेरै संक्रमण देखिने पालिका रहेको छ ।

पीसीआर रिपोर्टअनुसार वालिङमा २६, चापाकोटमा ४, गल्याङमा २ र भीरकोट नगरपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको छ भने हरिनाशमा २, बिरुवामा १ र कालीगण्डकी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको छ भने आरडीटीबाट पुतलीबजारमा १ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो ।

आइतबार आएको रिपोर्टमा देखिएका संक्रमणमा १८ देखि ५२ वर्षसम्मका पुरुष रहेका छन् । करिव १ हजारको हाराहारीमा जिल्लाका सबै पालिकामा भारतबाट आएकालाई क्वारेन्टाइनमा राखिएको छ । पीसीआरको दायरा वालिङले बढाएका कारण वालिङमा कोरोना संक्रमणको संख्या धेरै देखिएको बताइएको छ ।

अन्य पालिकाले भने पीसीआरमा जोड दिन नसकेको बुझिएको छ । सबै पालिकाले पीसीआरमा जोड दिने हो भने स्याङ्जामा ठूलो संख्यामा कोरोना संक्रमण देखिने आँकलन गरिएको छ । कोरोना संक्रमण देखिएकाहरू भीरकोट–१ स्थित कालिका सामुदायिक अस्पतालमा उपचाररत छन् ।