७१ जिल्लामा फैलियो कोरोना संक्रमण


नेपाल समाचारपत्र, काठमाडौं ।

विश्वव्यपापीरूपमा फैलिएको कोरोना महामारीका कारण नेपालमा कोरोना संक्रमितको संख्या २ सय १३ जना थपिएको छ । कोरोना संक्रमित कुल संख्या ३ हजार ४ सय ४८ पुगिसकेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्यामध्ये ३ हजार २ सय १२ जना रहेका छन् भने २ सय ३६ जना महिला रहेका छन् । आइतबार थपिएका २ सय १३ जनामा २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् ।

आइतबारसम्म क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराउनुभयो । उहाँले आइसोलेसन र विभिन्न अस्पतालमा गरी २ हजार ९ सय ६८ जनाको उपचार भइरहेको पनि जानकारी गराउनुभयो । संक्रमितमध्ये कोरोनालाई जितेर आइतबार १ सय २ जना डिस्चार्ज भएका छन् जसमा सय पुरुष र २ महिला छन् ।

७७ जिल्लामा आइतबारसम्म ७१ जिल्लाका नेपाली कोरोनाको संक्रमणमा परिसकेका छन् । पीसीआर परीक्षणलाई समयमै नबढाएको र क्वारेन्टाइनस्थल अत्यन्तै अव्यवस्थित भएका कारण कतिपय नेपालीले क्वारेन्टाइनमै ज्यान गुमाउनुपरेको छ ।

अहिलेसम्म १ लाख ४५ हजार ४९ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको प्रवक्ता डा. देवकोटाले जानकारी गराउनुभयो । आम नागरिक र बिज्ञहरूको तर्फबाट सरकारको कामप्रति प्रश्न उठाएपछि नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले मन्त्रालयका प्रतिनिधि, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि, नेपाल चिकित्सक संघका प्रतिनिधि र निजी अस्पतालका तर्फबाट समेत प्रतिनिधि रहने गरी आइतबार समिति गठन गरेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी गराउनुभयो ।

डा. देवकोटाले ७६ दिन लगातार कोरोना संक्रमणका बारेमा अनवरतरूपमा सूचना दिँदै आउनुभएको थियो । लामो समय सञ्चारमाध्यममा छाउनुभएका डा. देवकोटाको जिम्मेवारी परिवर्तन भएको जानकारी गराउँदै सोमबारदेखिका लागि मिडिया व्रिफिङका साथै प्रवक्ताको जिम्मेवारी प्रसूतिगृहका पूर्वनिर्देशक डा. जागेश्वर गौतमले सम्हाल्नुभएको डा. देवकोटाले जानकारी गराउनुभयो ।