लकडाउन खुकुलो हुँदा राजधानीमा तनाव


नेपाल समाचारपत्र, ललितपुर ।

लकडाउन खुकुलो भएसँगै मानिस राजधानी छिर्न थालेपछि टोल–टोलमा पुनः तनाव हुन थालेको छ । केही दिनयता सरकारी तथा निजी कार्यालय खोलिएलगत्तै मानिस राजधानी फर्किने क्रममा तीव्रता आएपछि त्यसलाई व्यवस्थापनमा गर्न स्थानीय तहलाई हम्मे–हम्मे पर्न थालेको छ ।

सरकारले विदेश वा घरबाट फर्किने मानिसको तथ्यांक संकलन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ ।
काठमाडौं उपत्यकाका नगरपालिकाहरूको संयुक्त फोरम मेयर फोरमको माग सम्बोधन गर्दै गृह मन्त्रालयले काठमाडौं उपत्यकाका छिर्ने सबै नाकाहरू सिल गरेको थियो ।

त्यसलगत्तै मानिसहरू उपत्यका आउने क्रममा निकै कमी भएको थियो भने दुई-तीन दिनयता लकडाउन खुकुलो भएसँगै मानिस राजधानी फर्किने क्रममा तीव्रता आएपछि त्यसलाई व्यवस्थापन गर्न स्थानीय तहलाई कठिनाइ हुंँदै गएको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताउनुभयो ।

‘मानिस आउने क्रमसँग टोल–टोलमा तनाव शुरू भएको छ । यसलाई व्यवस्थापनमा संघ र प्रदेशले सघाउनु पर्दछ ।’ –मेयर महर्जनले भन्नुभयो ।

‘कोरोना संक्रमित संख्या दिनहुँ बढिरहेको छ । यस्तो अवस्थाले उपत्यकाका झनै जोखिम बढ्दै गएको छ’, मेयर महर्जनले भन्नुभयो– ‘लकडाउन कडाई गर्दा प्रहरीको आँखा छलेर र लुकिछिपी आउने क्रम रोकिएन भने अब के रोकिन्छ ?’ अहिले मानिसहरू आएसँगै स्थानीयको गुनासो बढेको मेयर महर्जनले दाबी गर्नुभयो ।

ललितपुर महानगरपालिका–१९ मा शनिबार र आइतबार गरी १० जना फर्किएपछि वडाका विभिन्न टोलमा तनाव उत्पन्न भएको छ । कार्यालय खोलेसँगै मानिस आफ्नो बासस्थान फर्किन थालेका छन् । उनीहरूको आरडीटी र पीसीआर केही परीक्षण गरिएको छैन ।

टोलका मानिसहरूले त्यसरी फर्किएका मानिसलाई बस्न दिएका छैनन् । वडालाई व्यवस्थापन गर्न कठिन भइरहेको छ ।’ –वडाध्यक्ष विनोद ताम्राकारले बताउनुभयो ।

वडा नं ६ मा मानिसहरू फर्किने क्रम बढिरहेको छ । यस किसिमको घटनाले बहालमा बस्ने र स्थानीयबीच तनाव बढाएको छ ।

तनावले उग्ररूप लिन नपाओस् भनेर वडाले प्रहरी, टोल सुधार समितिसँग मिलेर समस्याको समाधान निकालिरहेको वडाध्यक्ष हिटलर शाक्यले बताउनुभयो ।

लकडाउनको समयमा कोठा बहालमा नदिन, घर गएकाहरू कोठामा नफर्कन, घरबाट फर्किएकालाई कोठामा नराख्न महानगरपालिकाका सबै वडाले पत्राचार गरेका छन् । त्यस्ता पत्रहरू सार्वजनिक स्थानमा टा“स्ने पनि गरेका छन् । तैपनि मानिस राति आउने क्रम नरोकिएको वडाध्यक्षहरू बताउँछन् ।