राजपुर हत्याकाण्डका फरार प्रतिवादी पक्राउ


सञ्जय कार्की, रौतहट

प्रहरीको फरार सूचीमा रहेका राजपुर फरहदवा हत्या काण्डका एक जना प्रतिवादी पक्राउ परेका छन् । १२ वर्षअघि संविधानसभा निर्वाचनको अघिल्लो दिन बम विस्फोट र हत्या काण्डका प्रतिवादी बाराको सिम्रौनगढ नगरपालिका–४ का ६५ वर्षीय मुक्ति साह पक्राउ परेका छन् ।

उनलाई प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका–८ बाट शनिबार राति पक्राउ गरिएको जनाएको हो ।

प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक धीरजप्रताप सिंहले फरार रहेकाहरूको खोजी गर्ने क्रममा राजपुर बम हत्याकाण्डका प्रतिवादी मुक्ति साह पक्राउ गरिएको बताउनुभयो ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्ला अदालत गौरमा हाजिर गराउँदा पीसीआरको रिपोर्ट आएपछि मात्रै सुनवाइ हुने भएको छ ।

उनी जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका छन् । संविधानसभा निर्वाचन हुने अघिल्लो दिन २०६४ साल चैत २७ गते बम बनाउँदा घाइते भएका मानिसलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोपमा साह पक्राउ परेका हुन् । सो घटना हँुदा साह राजा इँटाभट्टामा मिस्त्रीका रूपमा काम गर्दथे ।

सोही प्रकरणमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलम हाल पुर्पक्षका लागि नख्खु कारागारमा थुनामा रहेका छन् । सो घटनामा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायण राजपुतको जाहेरीमा साहलाई पनि अभियुक्त किटान गरिएको थियो ।

राजपुर फरहदवा गाविस–४ (हाल राजपुर नगरपालिका–४) स्थित शेख इद्रिसको गोठघरमा ०६४ चैत २८ गतेको संविधानसभाको चुनावलाई लक्षित गरी ०६४ चैत २७ गते नेपाली कांग्रेसका सांसद आफताव आलमले बम बनाउन लगाउने क्रममा विस्फोट भई दुई जनाको हत्या भएको प्रहरी अनुसन्धानमा उल्लेख रहेको छ ।