लकडाउनको सदुपयोग गर्दै ठेचोका युवा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

केही दिन अघिसम्म डम्पिङ साइट थियो । त्यहाँ पुग्ने जोकोहीलाई पनि सशस्त्र द्वन्द्वकालमा राज्यद्धारा बेपत्ता पारिएकाहरुको सम्झनामा बनाइएको पार्क भन्न पनि लाज हुन्थ्यो । अहिले ललितपुर ठेचोका युवाहरु मिलेर सरसफाइ थालेका छन् ।

ठेचोका रत्न माली हस्तकला कर्मी हुन् । लकडाउनले मूर्तिको माग ठप्प भएपछि केही दिन घरमै बसेर दिन बिताए उनले । ५ जनालाई रोजगार दिएका उहाँको दैनिक अहिले फेरिएको छ । रत्न अहिले लथालिंग अवस्थामा रहेको ठेचोस्थित बेपत्ता विश्रामस्थल पार्क सरसफाइ र वृक्षारोपनमा जुटेका छन् ।

सशस्त्र द्वन्द्वकालमा राज्यद्वारा वेपत्ता पारिएका ठेचो तःननी टोलका तीन जनाको सम्झनामा पार्क बनाइएको थियो । सुरक्षा फौजले २०६१ मा बाबुराजा माली, २०६२ मा नन्दगोपाल माली र २०५९ मा राजेन्द्र मालीलाई बेपत्ता पारेका थिए ।

पार्क सरसफाइ गर्न रत्नलाई साथ दिइरहनुभयो, ठेचोका बाबुराजा माली, दिनेश, सफल, अमृत, भाइगोपाल मालीलगायत २५ जना युवा छन् । ठेचोका दशलाल र तुल्सी माली घरमै मैनबाट मूर्ति बनाउने गर्छन् । लकडाउनको बेला पनि फुर्सद छैन दुवै जनालाई । तैपनि उनीहरु पनि ५ दिनयता दैनिक पार्क सरसफामा जुटेका छन् ।

नवदुर्गा टोल सुधार समिति ठेचोको नेतृत्वमा थालेको सरसफाइमा गोदावरी नगरपालिका–१२ वडाले खाजा र विरुवाको व्यवस्था गरेका हुन् । उनीहरु मिलेर लः स्वाँ ९लौठ सल्ला०, तेजपात, लप्सी जस्ता विभिन्न प्रजातिका ३ सय वटा विरुवा रोपेका छन् । नवदुर्गा टोल सुधार समितिका अध्यक्ष समेत रहेका रत्न भन्छन्, ‘राजनीतिक दलका नेताहरुले पार्क संरक्षण प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएपनि पछि बेवास्ता गरे । अहिले संरक्षण गर्न १२ वटा टोली बनाएका छौं । २५ जना युवा तालिका बनाई पालैपालो खटिने योजनामा छौं ।’

उनले बिहान विरुवामा पानी हाल्ने पनि पालैपालो खट्ने व्यवस्था मिलाएको बताए । गोदावरी नगरपालिका– १२ का वडाध्यक्ष जगतबहादुर महर्जनले थप विरुवा रोप्ने योजना रहेको बताए । ‘पार्क ३ सय भन्दा बढी रोपनीमा फैलिएको छ,’ उनले भने, ‘क्रमशः सुधार गर्दै लैजाने योजना छ ।’

ठेचोका युवा राज्यद्धारा बेपत्ता पारिएका गाउँलेको सम्झनामा बनाइएको पार्क सबै मिलेर संरक्षण गर्नुपर्ने वडाध्यक्ष महर्जनले बताए । सरकार र माओवादीबीच शान्ति सम्झौता भएको १३ वर्ष भइसकेको छ । तर, द्वन्द्वका बेपत्ताहरुको अवस्था अहिलेसम्म थाहा छैन । सरकारले बेपत्ता पारिवारलाई दिनुपर्ने सुविधा अझै दिन सकेको छैन । बेपत्ता पारिएका अधिकाश पुरुष छन् । पुरुष बेपत्ता पारिदा महिला र बालबालिका बढी प्रभावित बनेका छन् । बेपत्ता परिवारलाई भनेर लाखौं रुपैया खर्चेर गरिएका कार्यक्रमले पनि तिनीहरुलाई छुन नसकेको स्थानीय युवाहरुको भनाई छ । अहिले बेपत्ता पारिएकाहरुको काजकिरिया गर्ने वा नगर्ने भन्ने दोधारमा परिवार छन् ।