कतारको जेलमा रहेका १७ नेपालीलाई आममाफी



हेटौंडा, (नेस) ।

कतार सरकारले कतारको विभिन्न जेलमा बन्दी जीवन बिताइरहेका १७ नेपालीलाई आममाफी दिने घोषणा गरेको छ । नेपाली दूतावास दोहा कतारले जेलजीवन बिताइरहेका नेपालीहरूलाई कतार सरकारले आममाफी दिने घोषणा गरेको जानकारी आफ्नो पेजमार्फत दिएको हो ।

विश्व नै कोरोना संक्रमणको महामारी रहेको अवस्थालाई मध्यनजर गर्दै तथा कैदीहरूको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कैदीहरूलाई आममाफी दिने घोषणा सार्वजनिक गरिएको त्यहाँबाट हेटौंडेली पत्रकार अनिल पराजुलीले बताएका हुन् ।

दूतावासले कतारको बन्दीगृहमा रहेका १७ नेपाली रिहा हुने जानकारी दिएको छ । रिहा हुनेहरूमा १३ जना लागूऔषध कारोबार, २ जना चोरी, १ जना मादकपदार्थ कारोबार र अर्का १ जना ठगीको कसूरमा सजाय भुक्तान गरिरहेका थिए ।

कतारमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ७ हजार ७ सय ६४ पुगेको छ । बिहीबार थप ६ सय २३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण कतारमा संक्रमितको संख्या प्रत्येक दिन थपिँदै गएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७ सय ५० जना निको भएर घर फर्किएका छन् । बिहीबार ६१ जना संक्रमित निको भएर फर्केका पत्रकार पराजुलीले बताएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्