सीमा–सुरक्षाको प्रश्न



विश्वव्यापी रूपमा कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिए पनि नेपालमा अहिलेको अवस्थामा यसको संक्रमणमा कोही पनि छैन । एक महिनाअघि चीनबाट नेपाल आएका नेपालगन्जका युवामा कोरोना भाइरस ‘पोजिटिभ’ देखिएको थियो, तर आत्मअनुशासन र नियन्त्रणात्मक विधिको पालनाले एक सातापछि नै पुनः परीक्षण गर्दा उनमा ‘नेगेटिभ’ देखिइसकेको छ । त्यसपछि नेपालभित्र कुनै पनि व्यक्तिलाई कोरोना भाइरस लागेको देखिएको छैन । यो सुखद पक्ष हो । तर कोरोना भाइरसको संक्रमणलाई अस्वीकार गर्ने अवस्था भने छैन ।

 

सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि लिएको निर्णय सकारात्मक छ । नागरिकहरूको सुरक्षाका लागि सरकारले लिएको निर्णयले सम्भावित जोखिम न्यूनीकरण गर्न सहयोग पुग्छ । सरकारले दक्षिणतर्फको मुख्य १५ वटा नाकामध्ये चारवटा मात्र नाका सञ्चालनमा ल्याएको छ । सीमा नाकाबाट आवातजावत गर्ने यात्रुहरूको सामान्य स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेक्स स्थापना पनि गरिएको छ ।

 

छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमित देखिएसँगै भारतमा रहेका नेपालीहरू धमाधम नेपाल भित्रने संख्या बढ्दो छ । सम्भावित जोखिमबाट जोगिन आफ्नो देश फर्कने कुरा राम्रो हो । तर भारतबाट स्वदेश फर्किएका नेपालीहरूको अनिवार्यरूपमा स्वास्थ्य परीक्षण नगरी निर्बाधरूपमा भित्रन दिनु जोखिमपूर्ण छ । कोरोना भाइरसको बारेमा पूर्वसूचना भएकाले जोखिम हुनसक्ने खतरा नर्कान सकिन्न ।

 

सरकारले लामो दूरीको सवारी साधन रोक्ने, अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने र अत्यावश्यकबाहेकका सबै सेवा रोक्ने जो निर्णय लिएको छ, त्यो पनि सकारात्मक छ, यसले सकारात्मक प्रभाव पारेको छ । सरकारले गरेको आग्रहलाई नागरिकहरूले पनि पालना गरेको देखिन्छ । किनकि कोराना भाइरस सामूहिक समस्या भएकाले सबै मिलेर सामना गर्नुको विकल्प छैन ।

 

सरकारले लिएको निर्णय सही हुँदाहुँदै पनि सीमानाकामा हजारौंको संख्यामा नेपाल भित्रने यात्रुको स्वास्थ्य परीक्षण गर्ने सन्दर्भमा भने चुकेको देखिएको छ । सुरक्षा सतर्कता अपनाउन हेलचेक्र्याइँ गर्नुहुँदैन । सरकारले सीमा नाकाबाट हुलका हुल नेपाल प्रवेश गरेका नेपालीहरूको अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गर्न दिने व्यवस्था लागू गर्न ढिलाइ गर्नु समस्याको भयानक स्रोत हुनसक्छ ।

 

विपद्का बेला आफ्नो देश फर्किएका नेपालीहरूको अभिभावक पनि सरकार नै हो । सीमानाकाबाट प्रवेश गरेका यात्रुहरूको कारण कोरोना भाइरसको संक्रमण देखिएमा त्यसले लिने रूप विकराल हुनजान्छ । सरकारले नागरिकहरूलाई सम्भावित संक्रमणबाट सुरक्षित राख्नका लागि स्रोत–साधनको अधिकतम प्रयोग गर्नुपर्छ ।

 

रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै जाती भनेझैं अहिलेसम्म सरकारले लिएका निर्णयको पालना गर्नु नागरिकहरूको कर्तव्य पनि हो । यतिबेला अधिकार माग्नुभन्दा कर्तव्य निर्वाहमा प्राथमिकता दिनुपर्छ । मानवीय संवेदनाका साथ व्यवहार गर्नु, परोपकार र सहयोगतर्फ आफूलाई समर्पित गर्नु आवश्यक छ । हाम्रा धर्मशास्त्रहरूले जीवनको सार्थकता मानवजातिको सहयोगमा हुने व्याख्या गरेका छन्, नेपाल प्रवेश गर्ने र गराउने दुवै पक्षले यस बेला सोही भावना र चिन्तनका साथ काम गर्नु आवश्यक भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्