चिकित्सा शिक्षा आयोगविरुद्ध परेको रिट खारेज, काम गर्ने बाटो खुल्यो



काठमाडौं । 

चिकित्सा शिक्षा आयोगको निर्देशक छनौटका लागि नाम सिफारिस गर्न गठित समितिलाई काम अघि नबढाउन माग गर्दै एकजनाले दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरिदिएको छ । उच्च अदालतका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र कृष्णराज कोइरालाको संयुक्त इजलासले आयोग तथा नाम सिफारिस गर्न गठित समितिलाई विपक्षी बनाई दायर रिट खारेज गरिदिएको हो ।

आयोगका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोगमा रिक्त पदपूर्तिका लागि गत असोज ३० गते डा. रामकुमार फुयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्नुभएको थियो । समितिको सदस्यहरुमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा रहेका छन् ।

आयोगमा गत ४ मंसिर देखि मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशक पद खाली रहेको छ । सोही रिक्ति चार वटा पदका लागि नाम सिफारिस गर्न गठित समितिले गत ५ मंसिरमा एक साताको अवधी तोकेर सूचना प्रकाशित गर्यो । सूचनाका आधारमा २० जनाले आवेदन दिएका थिए । उक्त आवेदन उपर छानविन गरि गत मंसिर १७ गते समितिले १२ जनाको नाम अल्पसूचीमा राख्दै सूची प्रकाशित गरेको थियो ।

त्यसमा असहमति जनाएका एक जना आवेदकले समितिबाट थप काम अघि नबढोस भन्दै रिट दायर गरेका थिए । सो रिटमा गत २१ मंसिरमा प्रारिम्भक सुनुवाई गर्दै काम अघि नबढाउन आयोग तथा समितिका नाममा अन्तरिम आदेश दिएको थियो । आजको रिट खारेजीको निर्णयले समितिलाई तोकिएको काम गर्ने बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्