आहाको २८ लाख आम्दानी


विजय नेपाली, पोखरा
पोखरामा शनिबार सम्पन्न १८औं संस्करणको आहा रारा गोल्डकप प्रतियोगितामा टिकटबाट २८ लाख रुपियाँ आम्दानी भएको छ। फागुन २२ देखि चैत्र १ गतेसम्म पोखरा रंगशाला निमार्णाधीन अवस्थामा रहेको फुटबल मैदानमा भएको प्रतियोगिताको ९ दिनको खेलमा २८ लाख आम्दानी भएको हो। विश्वमा कोरोना भाइरस संक्रमणले निकै असर गरिरहेको बेला खेलकुदमा समेत असर पर्न गएको हो।
आहा रारा गोल्डकपको सेमिफाइन खेलसम्म खासै दर्शक नपाएको प्रतियोगिताले फाइनलमा भने केही राहत पायो। चैत्र १ गते शनिबार भएको फाइनल खेलमा ५ हजार ७ सय दर्शकले टिकट काटेर खेल अवलोकन गर्दा सहारा क्लब पोखरालाई केही राहत मिलेको हो। मोफसलमा हुने प्रतियोगितामध्ये पहिलो लोकप्रियतामा पर्ने गरेको आहा रारा गोल्डकपमा दर्शकको चाप भने न्यून देखियो।
त्यस्तै, प्रतियोगितामा टिकटसहित सहयोगबाट समेत करिब ८१ लाख रुपियाँ आम्दानी भएको सहारा क्लब पोखराका कोषाध्यक्ष राजु लालचनले जानकारी दिए। ‘यो हाम्रो अनुमानित मात्र हो। फाइनलमा मात्र ५ हजार ७ सय दर्शकले टिकट काटे कोषाध्यक्ष लालचनले भने।’
प्रतियोगिताका लागि मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिलगायत अन्य प्रायोजकबाट करिब २० लाख, ९ दिनको टिकटबाट २८ लाख, सहारा हङकङबाट २ लाख ७ हजार ४ सय ५०, सहारा यूकेबाट अक्षयकोष स्थापनाका लागि १३ लाख र विधागत ट्रफी, मेडल तथा ब्यानर सहयोगबाट १८ लाख रुपियाँ अनुमानित आम्दानी भएको लालचनले बताए।
१८ संस्करणको विजेता नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब हुँदै १० लाख १ हजार प्राप्त गर्यो भने उपविजेता नेपाल पुलिसले ५ लाख १ हजार रुपियाँ प्राप्त गर्यो।