बाँसबारीको पहिलो हार 


नेपाल समाचारपत्र, काठमाडौं

जारी शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता विजेता बन्ने लक्ष्यका साथ प्रतिस्पर्धामा रहेको बाँसबारी क्लबले पहिलो हार व्यहोरेको छ।

आइतबार एन्फा कम्प्लेक्समा भएको खेलमा नयाँ बस्ती युवा क्लबले बाँसबारीलाई १–० ले झट्का दिएको हो।

नयाँ बस्तीको जितमा साजन राईले अन्तिममा इन्ज्युरी समयमा गोल गरेका हुन्। यो नतिजासँगै नयाँ बस्ती ५ खेलमा ८ अंक जोडेर चौथो स्थानमा उक्लियो। हार व्यहोरेको बाँसबारीले ५ खेलमा ११ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ।

तर, तेस्रो स्थानको खुमलटार युवा क्लबले अर्को खेल जितेमा बाँसबारी तेस्रो स्थानमा झर्नेछ। शीर्ष स्थानको सातदोबाटो युवा क्लबले पाँचौँ जित हात पारेको छ।

यस्तै, पुल्चोक स्पोर्टस् क्लबले झम्सिखेल युवा क्लबलाई १–१ गोलमा रोकेर लिगमा पहिलो अंक जोड्न सफल भयो। खेलमा पुल्चोकले ७३औं मिनेटमा आकाश रानाको गोलमार्फत अग्रता बनाएको थियो।

तर, मदन स्याङ्तानले ८५औं मिनेटमा झम्सिखेलका लागि गोल गरेपछि पुल्चोकले बराबरीमै चित्त बुझाउनु परेको थियो। यसअघि टोलीले चारै खेल हारेको थियो भने झम्सिखेलको ५ खेलबाट ५ अंक छ।