डेनिलीलाई कोरोना संक्रमण रोनाल्डो क्वारेन्टाइनमा

0
Shares

लन्डन, (एजेन्सी)

युभेन्टस्का खेलाडी डेनिली रुगानीलाई विश्वमा फैलिरहेको कोरोना भाइरसको संक्रमण भएको छ। यसको असर उनका सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई पनि परेको छ। हाल रोनाल्डो क्वारेन्टाइनमा बसेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार रोनाल्डो पोर्चुगलमा छन्। उनी आमालाई भेट्न त्यतै गएका हुन्।

 

रोनाल्डो इटालीमा फर्कनुअघि क्वारेन्टाइनमा बस्नुपर्ने भएको हो। आइतबारको खेलमा युभेन्टसले इन्टरमिलानलाई हराएपछि सबै खेलाडी समूहगत तस्वीर खिचाएका थिए, जसमा डेनिली पनि थिए। उनलाई कोरोना संक्रमण भएको पुष्टि भएपछिसँगै तस्वीर खिचाएका खेलाडीलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ।

 

इटालीमा लगभग ६ करोडभन्दा बढी नागरिकलाई घरमै बस्न आग्रह गरिएको छ। चीनपछि इटाली सबैभन्दा बढी कोरोनाको प्रभाव परेको राष्ट्र हो। इटालीका सिरी ए खेल हाललाई स्थगित गरिएको छ भने इटालीको विमानलाई स्पेनमा अवतरण गर्न अनुमति नदिँदा रोमाले बिहीबार खेल्नुपर्ने युरोपा लिगको खेल खेल्न पाएन।