रोमाले स्पेनको यात्रा नगर्ने

0
Shares

लन्डन, (एजेन्सी)

इटालीयन सिरी ए क्लब रोमाले युरोपा लिगअन्तर्गत अन्तिम १६ को खेलका लागि स्पेनको यात्रा नगर्ने भएको छ।

स्पेनी क्लब सेभियाविरुद्ध बिहीबार हुनुपर्ने उक्त खेल अर्को मिति तय नगरुन्जेल स्थगित गरिएको छ। स्पेनले इटालीबाट आउने विमानलाई अवतरण गर्न अनुमति नदिएपछि उक्त खेल स्थगित भएको हो। कोरोना भाइरसको डर भए पनि सेभिया बन्द रंगशालामा खेल्ने तयारीमा थियो। कोरोना भाइरसले चीनभन्दा बाहिर इटालीमा सबैभन्दा बढी असर गरेको छ।

इटाली सरकारले करिब ६ करोड बासिन्दालाई घरमै बस्न आग्रह गरेको छ। यसैकारण सिरी ए अप्रिल ३ सम्म स्थगित गरिएको छ। स्पेनमा भने ला लिगाका खेलहरू बन्द रंगशालामा अप्रिल १५ सम्म खेलाउने तय भएको छ।

यस्तै, स्पेनी क्लब गेटाफेले युरोपा लिगअन्तर्गत आज राति हुने इन्टर मिलानविरुद्धको खेलका लागि इटालीमा यात्रा गर्न अस्वीकार गरेको छ। कोरोनाकै कारण स्पेनी र इटालीयन खेलाडीको युनियनले युएफालाई इटाली र स्पेनी टोलीबीच खेल स्थगित गर्न आग्रह गरेका छन्। स्पेनको खेलाडी युनियनले भने स्पेनका सबै खेल बन्द रंगशालामा खेलाउनुभन्दा स्थगित गर्नसमेत आग्रह गरेको छ।

केही खेल स्थगित भइरहँदा युरोपा लिगकै अन्तिम १६ अन्तर्गत वोल्भस र ओलम्पियाकोसबीचको खेल भने सुचारू हुने भएको छ। आज राति हुने सो खेल खाली रंगशालामा हुने जनाएको छ।

जबकि, वोल्भस्ले युएफालाई खेल स्थगित गर्ने निवेदन गरेको थियो। तर, यसलाई युएफाले अनावश्यक भन्दै अस्वीकार गरेको थियो। यस्तै, आगामी अप्रिल ४ मा हुने भनिएको फ्रेन्च लिग कप फाइनल खेल स्थगित गरिएको फ्रेन्च लिगले वक्तव्यद्वारा जानकारी गरायो। वक्तव्यमा उल्लेख गरिएअनुसार नयाँ मिति घोषणा हुन समय लाग्नेछ। उपाधिका लागि पेरिस सेन्ट जर्मेन र लियोनबीच खेल्ने कार्यक्रम रहेको छ।