पाटन क्याम्पसलाई बीएससी–सीएसआईटी कप

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

पाटन बहुमुखी क्याम्पसले आठौं बीएससी–सीएसआईटी कप राष्ट्रव्यापी टी– २० क्रिकेट प्रतियोगिताको उपाधि बुधबार जितेको छ।

न्यु समिट कलेजको आयोजनामा मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा पाटनले एकेडेमियालाई ७ विकेटले पराजित ग¥यो। उपाधिसँगै पाटनले ६० हजार नगद पुरस्कार पायो। एकेडेमियाले ४० हजार नगद पुरस्कारमा चित्त बुझायो। टस जितेर ब्याटिङ रोजेको एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा ९८ रन बनायो। मधुसुदन खनालले २२ तथा विपिन महर्जनले १७ रन बनाए।

बलिङतर्फ पाटनका निर्मल लुइटेलले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर २ विकेट लिए। चारै ओभर गरेका रुपेश बुढाथोकीले २५ रन दिएर २ विकेट चट्काए। जवाफमा पाटनले १४ दशमलव ४ ओभरमा ३ विकेट गुमाउँदै १ सय रन बनायो। हिमाल ज्ञवालीले २५ र सुनिल खड्काले नटआउट २४ रन जोडे। सुनिल ‘म्यान अफ द म्याच’ बने। बलिङतर्फ एकेडेमियाका चिन्तामणि विश्वकर्माले ३ दशमलव ४ ओभरमा १६ रन खर्चंदै २ विकेट हात पारे। भुवन शाहीले ४ ओभरमा १ मेडनसहित १३ रन दिँदै १ विकेट लिए।

पाटनका चक्र तिमल्सिना ‘म्यान अफ द सिरिज’ घोषित भए। चक्रले ७ खेलबाट १७ विकेट लिए। ४ खेलमा १३ विकेट लिएका एकेडेमियाका चिन्तामणि विश्वकर्मा उत्कृष्ट बलर चुनिए। हिमालयन कलेज अफ इन्जिनियरिङका किरण विष्ट उत्कृष्ट ब्याट्सम्यान ठहरिए। फागुन १७ गतेदेखि शुरू प्रतियोगितामा १३ छात्र टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए। नवौं संस्करण पाटनले आयोजना गर्ने भएको छ। विजेताले अर्को संस्करण आयोजना गर्ने प्रावधानअनुरूप पाटनले नवौं संस्करण आयोजना गर्ने भएको हो।