बेटिससँग रियल स्तब्ध

0
Shares

लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगाको म्याचमा स्पेनिस महारथी रियल मेड्रिडलाई रियल बेटिसले स्तब्ध पारेको छ ।
रियल घरेलु टोली रियल बेटिससँग २–१ गोलअन्तरले पराजित भएको हो । रियललाई स्तब्ध बनाउन बेटिसका सिड्नेई र सब्सिच्युट क्रिस्टियन टेलोले गोल गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक उक्त खेलको १२औं मिनेटमा सिड्नेइले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रियलले पेनाल्टीमार्फत् खेललाई बराबरीमा ल्याएको थियो । सिड्नेइले मार्सेलोलाई पेनाल्टी बक्समा लडाएपछि रियलले पेनाल्टीको मौका पाएको थियो । जसलाई करिम बेन्जेमा गोलमा परिणत गर्न सफल भए ।
खेल सकिन ८ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका क्रिस्टियन टेलोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले एन्ड्रिस गुर्डाडोको पासमा गोल गरेका थिए । क्रिस्टियन ६६औं मिनेटमा जोआक्वीनको स्थानमा मैदानमा प्रवेश गरेका थिए । त्यसपछि खेलमा थप गोल नभएपछि रियल घरेलु टोलीलाई नतिजा सुम्पन बाध्य बन्यो ।
हारसँगै रियलले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । रियल शीर्षस्थानको बार्सिलोनासँग दुई अंकले पछि परेको छ । रियलले अघिल्लो साता मात्रै इल क्लासिकोमा बार्सिलोनालाई पराजित गर्दै शीर्षस्थानमा पुनरागमन गरेको थियो । तर, आइतबार रियल हारेपछि बार्सिलोना शीर्षस्थानमा कायमै रहेको छ । यता जितसँगै रियल बेटिस ३३ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ ।