नेपाल समाचारपत्र, काठमाडौं
सरकारले तय गरेका अन्तर्राष्ट्रिय महत्वका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको छ।
नेपाल कोरोना भाइरसका उच्च जोखिममा रहेकाले आगामी चैत्रमा तय गरिएको सगरमाथा संवाद, नेपाल भ्रमण वर्षका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिनुभयो।
मन्त्रालयले सम्पन्न गरेका कार्यक्रमहरु विश्वसामू सुनाउन सगरमाथा संवाद कार्यक्रम तय गरेको थियो। हरेक दुई वर्षमा हुने संवादको पहिलो श्रृंखला चैत्र २०, २१ र २२ गतेसम्म राजधानीमा गर्ने तय भएको थियो। जलवायु परिवर्तन पर्वतीय मुलुकहरु र मानव जातिको भविष्य बारे संवाद गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो।
मन्त्रालयका अनुसार सो कार्यक्रममा १० मुलुकबाट उच्चस्तरको राजनीतिक संलग्नता र २० वटा मुलकबाट सहभागी हुने सुनिश्चित भइसकेको थियो। ‘कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिएको र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले उच्च जोखिममा राखेपछि सरकारले सगरमाथा संवाद स्थगित गर्ने निर्णय गरेका छौं।’ मन्त्री ज्ञवालीले भन्नुभयो ‘ उपयुक्त समय हेरेर फेरि कार्यक्रम आयोेजना गर्नेछौं।
त्यसैगरी अत्यावश्यक अवस्थाबाहेक विदेश नजान नेपालीहरुलाई आग्रह गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो– ‘अत्यावश्यक अवस्थामा बाहेक काम, अध्ययन, घुमफिरका लागि विदेश नजान अनुरोध गरेका छौं। तत्काल विद्यार्थीहरुलाई ‘नो अब्जेक्स चिठी नदिइने, वैदेशिक रोजगारीमा जानेका लागि पनि अत्यावश्यक अवस्थामा बाहेक नजान हामी आग्रह गर्दछौं।’
विवाह, पार्टीजस्ता कुराहरुलाई पारिवारिक जमघटमा सीमित राख्न पनि उहाँले आग्रह गर्नुभयो।‘ ठूलो भीडमा नबस्न, लामो समय बाहिर नहिंड्न, मास्क प्रयोग गर्न सबैसंग आग्रह गर्दछौं।’ मन्त्री ज्ञवालीले भन्नुभयो ‘ मास्क र स्यानीटाजर उत्पादनमा वृद्धि गर्न आग्रह गरेका छौं।’
मन्त्री ज्ञवालीले खरिपाटीको क्वारेन्टाइनलाई नियमित गर्ने उल्लेख गर्दै विदेशबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था पनि आउन सक्ने बताउनुभयो। विभिन्न अस्पतालहरुमा आइसोलेसन वार्डको प्रबन्ध मिलाइएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो ‘कम्तिमा १०० बेडको आइसोलेसन वार्डको प्रबन्ध मिलाइएको छ। आपत्कालीन अवस्थामा सबै अस्पताललाई तयारीमा रहन आग्रह गरेका छौं।’











प्रतिक्रिया